
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले संघीय संसदको निर्वाचन संविधानले तोकेकै समयमा हुने बताउनुभएको छ ।
बिहीवार नेकपा(एकीकृत समाजवादी) मध्यपुर थिमि नगर कमिटीले आयोजना गरेको दीपावली, नेपाल सम्वत् ११४२ र छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले कसैले चाहादैमा संघीय संसदको निर्वाचन चाँडै नहुने बताउनुभयो ।
नेपालले संघीय संसदको निर्वाचन संविधानले तोकिएकै समयमा हुने बताउनुभयो । उहाँले राष्ट्रियसभाको निर्वाचन र स्थानीय तहको निर्वाचन चैतमा हुने बताउँदै उक्त निर्वाचन र केन्द्र तथा प्रदेशको उपनिर्वाचनमा पाँच दलको गठबन्धन हुने र यसलाई कसैले भत्काउन तथा टुटाउन नसक्ने बताउनुभयो ।
अध्यक्ष नेपालले केपी ओलीको दम्भकै कारण एमालेले केन्द्रीय सरकार र प्रदेश सरकारमा पार्टीको हैसियत गुमाउनुपरेको बताउनुभयो । उहाँले नवौं महाधिवेशनमा ओलीलाई जिताएर साथीहरूले भूल गरेको कारणले नै एमाले पार्टीको दुर्भाग्य सुरु भएको टिप्पणी गर्नुभयो । एमालेले गलत बाटो लिन थालेपछि आफूहरूले नयाँ पार्टी खोल्न बाध्य भएको उहाँको भनाइ छ ।
उहाँले एमाले पार्टीमा रहेका असन्तुष्टहरूलाई आफ्नो पार्टीमा फर्किएर आए स्वागत गर्ने बताउनुभयो । पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूले नराम्रो काम गरेमा तत्काल कारबाही पदबाट हटाउने उहाँको चेतावनी छ ।
प्रतिक्रिया दिनुहोस्