२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


एकीकृत समाजवादीले बनायो तीन सदस्यीय वार्ता टोली, पार्टीमा आउन चाहनेहरूसँग वार्ता गर्ने


0
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले पार्टीमा आउन चाहेका राजनीतिक समूह र व्यक्तिसँग वार्ता गर्न ३ सदस्यीय वार्ता टोली गठन गरेको छ ।

बुधबार बसेको पार्टीको केन्द्रीय सचिवालयको बैठकले महासचिव बेदुराम भुसालको नेतृत्वमा उप–महासचिव गंगालाल तुलाधर र विजयकुमार पौडेल सदस्य रहेको वार्ता टोली गठन गरेको हो ।

वार्ता टोलीले वार्तासम्बन्धी प्रस्ताव पेश गरी पार्टी सचिवालय समितिमा पेश गर्ने निर्णय गरेको बिहीबार उप–महासचिव गंगालाल तुलाधर विज्ञप्तिमार्फत् जानकारी दिनुभयो ।

एकीकृत समाजवादीले केन्द्रीय कमिटीको दोस्रो बैठक कात्तिक २७ र २८ गते काठमाडौंमा गर्ने भएको छ । बैठकले न्यायपालिकामा देखापरेको समस्यालाई गम्भीर रूपमा लिई उपयुक्त निकास निकाल्न पाँच दलीय गठबन्धनमा छलफल गर्ने निर्णय पनि गरेको छ ।

एकीकृत समाजवादीले सरकारको कामलाई अझै प्रभावकारी बनाउन गठबन्धनमा छलफल गर्ने, पार्टीबाट सरकारमा पठाइएका मन्त्री तथा मुख्यमन्त्रीले पार्टीको नीति निर्देशन अनुसार प्रभावकारी रूपमा काम गर्ने निर्णय पनि गरेको छ ।

त्यस्तै मन्त्री र मुख्यमन्त्रीको सल्लाहकारको नियुक्ति, सचिवालयको गठन गर्दा पार्टीसँग सल्लाह गरेर गर्ने, राजनीतिक नियुक्ति गर्दा केन्द्रमा राजकीय मामिला विभागको सिफारिसका आधारमा केन्द्रीय सचिवालयले निर्णय अनुसार गर्ने निर्णय गरेकाे छ ।

प्रदेशमा पार्टी अध्यक्षको सहमति लिएर प्रदेश इन्चार्ज, प्रदेश अध्यक्ष र मुख्यमन्त्रीको निर्णय अनुसार काम गर्ने निर्णय पनि बैठकले गरेको उप–महासचिव तुलाधरले जानकारी दिनुभयो ।