१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


राष्ट्रपति कार्यालयमा देउसी–भैलो, राष्ट्रपतिले दिइन् सेलरोटीसहित फलफूल र दक्षिणा (तस्वीरहरू)


0
Shares

काठमाडौं । सांस्कृतिक संस्थानका कलाकार र बाल मन्दिरका बालबालिकाले राष्ट्रपति कार्यालय शीतलनिवासको प्राङ्गणमा देउसी–भैलो प्रस्तुत गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा कलाकारले देउसी–भैलोसहित नेपालका विभिन्न क्षेत्र र भू–भागका लोकसंस्कृति प्रस्तुत गरेका थिए । उनीहरूले सांस्कृतिक संस्थानका ३० जना कलाकारले नेपालको पूर्व र पश्चिमका देउसीसहित नुगेको डाली, साकेला, घरपट्टि नानी, तिहारै आयो, टप्पा, रोयला, असारे महिनाजस्ता लोक–सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

त्यसैगरी बालमन्दिरका बालबालिकाले पनि देउसी–भैलो प्रस्तुत गरेका थिए । राष्ट्रपति भण्डारीले देउसी–भैलो प्रस्तुत गर्ने कलाकार टोलीलाई सेलरोटी, फलफूल र दक्षिणासमेत प्रदान गर्नुभएको थियो । उहाँले देउसी–भैलोलाई दिइने परम्पराअनुसार नै बलेको दियो नाङ्लोमा राखेर चामल र सेलरोटीसहितको दक्षिणा आफैँले दिनुभएको थियो ।

राष्ट्रपति भण्डारीले आफ्ना मौलिक गीत, सङ्गीत, कला र साहित्यले जुनसुकै देशलाई पनि समृद्ध बनाउन सहयोग पुर्‍याउने भन्दै नेपालको लोकसंस्कृति विश्वमै विशिष्ट र अद्वितीय रहेको बताउनुभयो । सांस्कृतिक संस्थानले नेपालको लोक–संस्कृति र परम्पराको संरक्षण र प्रवर्द्धनमा निर्वाह गरेको भूमिका अतुलनीय रहेको भन्दै सबै कलाकारलाई उहाँले धन्यवाद दिनुभयो ।

राष्ट्रपति भण्डारीले कोरोना महामारीले असहज बनाएको नेपाली समाज र देशको अवस्थालाई सहजतातर्फ उन्मुख गराउन यस्ता सांस्कृतिक कार्यक्रमहरूले पनि योगदान पु¥याउन सक्ने बताउनुभयो । राष्ट्रपति कार्यालयको आँगनमा आफ्ना प्रस्तुति दिन पाएकामा कलाकारहरूले पनि खुसी व्यक्त गरेका थिए ।