
एजेन्सी । उत्तर कोरियामा भोकमरी बढ्न थालेको छ । देश त्यागेर दक्षिण कोरियामा रहेकाहरूले उत्तर कोरियामा रहेका आफ्ना परिवारहरूले भोकमरीको सामना गरिरहेको बताएका छन् ।
हिउँद याम नजिकिँदै गर्दा धेरै जोखिममा रहेकाहरू भोकमरीबाट सबैभन्दा बढी प्रभावित हुने भन्दै चिन्ता बढेको बीबीसीले जनाएको छ । खाद्यान्न अभावको अवस्था सोचिएभन्दा बढी खराब हुँदा उत्तर कोरियामा निम्न वर्गीय मानिसहरू धेरैभन्दा धेरै पीडित भएको बताइएको छ । कोभिड–१९ को संक्रमणबाट जोगिन भन्दै गरिएको सीमा बन्द गत वर्षको जनवरीदेखि नै कायम छ ।
दक्षिण कोरियामा रहेकालाई उत्तर कोरियामा बस्ने परिवार र साथीभाइबाट सन्देश पाउन पनि मुस्किल हुँदै गएको छ र त्यसरी सूचना लिनु पनि खतरनाक बनेको बताइएको छ । अनधिकृत मोबाइल फोन लिएको पाइए त्यस्ता मानिसलाई श्रम शिविरमा पठाइने गरेको छ ।
तर पनि केही मानिसहरू भने चिठ्ठी वा आवाज सन्देश सोलमा रहेका आफ्ना आफन्त वा सञ्चारमाध्यमलाई पठाइरहेका छन् । उत्तर कोरियामा खाद्यान्न अभावको समस्या सधैँको हो । तर कोरोनाभाइरसको विश्वव्यापी महामारीले त्यो अवस्थालाई अझै खराब बनाएको छ ।
नेता किम जोङ–उनले देशको अहिलेको अवस्थालाई सन् १९९० को खराब अवस्थासँग दाँजेको त्यहाँका सञ्चारमध्यमहरुले जनाएको छ । उत्तर कोरियाले चीनसँगको सीमा खोल्ने तयारी गरेको देखिएको छ । तर पहिल्यै गरिब रहेको देशको बिग्रिएको अर्थतन्त्र उकास्न कति सहायता वा कति व्यापार आवश्यक छ भन्ने चाहिँ अझै स्पष्ट भइसकेको छैन ।
प्रतिक्रिया दिनुहोस्