
काठमाडौं । हेटौँडाको नेवारपानीमा गएराती देउसी खेलिरहेको समूहमाथि बस गुड्दा दुई जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् ।
हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको बागमती प्रदेश ३, ००१ ख ०९३६ नम्बरको बसले हेटौँडा उपमहानगरपालिका १५ नेवारपानीमा देउसी खेलिरहेका स्थानीयको समूहलाई ठक्कर दिएको हो ।
घटनामा हेटौंडा उपमहानगर १५ का सुजन विष्ट र चितवन घर भएका प्रेम सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । बसको ठक्करबाट घाइते भएका ८ जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।
घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुर्घटनापछि बस चालकलाई प्रहरीले पक्राउ गरेको छ । घटनापछि स्थानीयले वसमा आगो लगाईदिएका छन् भने आगो निभाउन गएको दमकलमा पनि तोडफोडको प्रयास भएपछि प्रहरीले लाठीचार्ज गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्