२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक कात्तिक २८ गते बस्ने


0
Shares

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमति बैठक बोलाएको छ । पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सूचना जारी गरी कात्तिक २८ गते दिउँसो १ बजे बस्ने गरी बैठक बोलाइएको जानकारी दिनुभएको छ ।

बैठकमा पार्टी पदाधिकारी, केन्द्रीय सदस्य र आमन्त्रित केन्द्रीय सदस्यलाई बोलाइएको छ । कांग्रेसले ४ महिनापछि केन्द्रीय कार्यसमिति बैठक आह्वान गरेको हो ।

पछिल्लो पटक असार २८ देखि ३० गतेसम्म सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा केन्द्रीय समिति बैठक बसेको थियो । उक्त बैठकले तय गरेको महाधिवेशन कार्यतालिका प्रभावित भएपछि केन्द्रीय निर्वाचन समितिमार्फत महाधिवेशन कार्यतालिका परिमार्जन गरेको थियो ।

तर, कांग्रेसको विधानले केन्द्रीय समितिले मात्र महाधिवेशनको कार्यतालिका परिमार्जन गर्नसक्ने व्यवस्था गरेको छ । कात्तिक २८ गते बोलाइएको बैठकको कार्यसूची सार्वजनिक नगरिएपनि निर्वाचन समितिमार्फत परिमार्जन गरिएको महाधिवेशन कार्यतालिका अनुमोदन र महाधिवेशनको थप तयारी एजेण्डा हुने जनाइएको छ ।

यसअघि ४ पटक परिमार्जन भएका महाधिवेशन कार्यतालिकाहरु भने केन्द्रीय समितिबाट परिमार्जन गरिएको थियो । केन्द्रीय समितिले तय गरेको पछिल्लो महाधिवेशन कार्यतालिका प्रभावित भएपछि संस्थापन इतर पक्षले केन्द्रीय समिति बैठकको माग गर्दै आएको थियो ।