
काठमाडौं । लुम्बिनी क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढ्ने अनुमान गरिएपनि सडकको अवस्थाले बिथोलेको छ । लुम्बिनी क्षेत्रसम्म पुग्ने सडक मार्गहरुमा मर्मत र बिस्तारको काम चलिरहेकाले लुम्बिनी क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको आवागमनलाई सडकको अवस्थाले बिथोलेको हो ।
नारायणगढ हुँदै लुम्बिनी पुग्ने पूर्वपश्चिम राजमार्गको बिस्तारको काम भइरहेको छ भने भैरहवा लुम्बिनी सडक खण्डको मर्मतसम्भार भइरहेको छ । सडकको अवस्थाले पर्यटकीय मौसममा पनि लुम्बिनी क्षेत्रका होटल पर्यटन व्यवसायीले लाभ लिन सकेका छैनन् ।
काठमाडौं बाहिरका धेरै पर्यटकीय क्षेत्रमा आन्तरिक पर्यटकको घुइँचो बढ्दा लुम्बिनी क्षेत्र सामान्यमै रहेको छ । लुम्बिनी होटल संघका महासचिव पुरुषोत्तम अर्यालले लुम्बिनी क्षेत्रको १५ प्रतिशत होटल मात्रै सञ्चालनमा आउन सकेको बताउनु भयो ।
विगतमा दसैं र तिहारको बीचमा लुम्बिनी क्षेत्र घुम्न आउने पर्यटक धेरै भएर सेवा दिन भ्याइ नभ्याइ हुने गरेको तर यो वर्ष खासै पर्यटक नआएको महासचिव अर्यालले बताउनुभयो ।
लुम्बिनीलाई गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले पनि सिधा जोड्दै छ । आन्तरिक पर्यटक पनि थपिँदै जाने निश्चित छ । यस्तो अवस्थामा अविलम्व सडक सुधार गर्नु पर्ने आवश्यक्ता रहेको व्यवसायीहरुले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्