
काठमाडौं । वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले प्रधानन्यायाधीशविरुद्धको आन्दोलनलाई प्रभावकारी बनाउन प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ गठबन्धनविरुद्ध पनि आन्दोलन गर्न नेपाल बारलाई सुझाव दिनुभएको छ ।
मंगलबार सर्वोच्च अदालतको प्राङगनमा एक घण्टे धर्ना कार्यक्रमपछि आयोजित कोणसभामा बोल्दै प्रधानमन्त्री उहाँले देउवा र सत्तारुढ गठबन्धनले अहिलेको प्रधानन्यायाधीशलाई भागबण्डा दिएकाले उनीहरूविरुद्धको आन्दोलनलाई पनि बारले अघि बढाउनुपर्ने उहाँको तर्क थियो ।
वरिष्ठ अधिवक्ता भण्डारीले भन्नुभयो, ‘पहिलो प्रधानन्यायाधीशको राजीनामा । तर यो प्रधानन्यायाधीशलाई राजनीतिक भागबण्डा दिने काम अहिलेको सरकार, यसका प्रधानमन्त्री र गठबन्धनले गरेकाले बार र सम्पूर्ण नागरिकले गठबन्धनको विरुद्धमा, शेरबहादुर देउवाको विरुद्धमा आवाज उठाउनुपर्छ ।’
कानुन व्यवसायीहरूले राजनीतिक दलहरूलाई न्यायालय बचाउने हो भने प्रधानन्यायाधीश जबराविरुद्ध संसदमा महाअभियोग लगाउन सरकार र संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुलाई आग्रह पनि गरेका छन ।
वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीले न्यायालय डुब्न लागेको बेला टुलुटुलु हेरेर बस्ने काम नगर्न सचेत गराउँदै सांसद र सरकारलाई संसदमा प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग लगाउन आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘संसदका सांसदज्यूहरू, अहिले टुलुटुलु हेरेर बस्नु भएको छ,स्वतन्त्र न्यायपालिका ढल्यो भने तपाईंहरूको हतियार भुत्ते हुन्छ । तपाईंको हतियार चलाउनुस् महाअभियोग संसदमा लैजानुहोस् । केवल बारले न्यायालयको समग्र सुधारको कुरा गरिराखेको छ । नभए लोकतन्त्र, गणतन्त्र गुम्न जानेछ ।’
वरिष्ठ अधिवक्ता ज्ञवालीले लोकतन्त्र र गणतन्त्रको रक्षाका लागि पनि प्रधानन्यायाधीश जबरालाई पदबाट हटाउनुपर्ने अवस्था आएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्