१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


काठमाडौंका छठको तयारी तीव्र, प्रतिघाट ११ सय रुपैयाँ

सादा पोशाकका सुरक्षाकर्मी खटाउँदै गस्ती बढाउने प्रहरीको सुरक्षा योजना

0
Shares

दीपक श्रेष्ठ
काठमाडौं । तिहार सकिएसँगै राजधानीलगायत तराईका जिल्लामा छठको रौनक सुरु भएको छ । कात्तिक महिनाको शुक्लपक्षमा मनाइने छठ पर्वका पोखरी, नदी र जलाशय सजाउने काम धमाधम भइरहेको छ । कुनै समय तराईमा मनाइने यो पर्व समयसँगै पहाडतिर उक्लिन थालेको छ ।

काठमाडौंलगायत तराई मधेशका विभिन्न जिल्लामा पोखरी तथा तलाउहरू बेहुलीझैं सिंगारिएको छ । काठमाडौंको कमलपोखरी, गौरीघाट र थापाथलीस्थित बागमती नदी किनारमा छठ पूजाका लागि सजावट गरिएको छ । विगतमा पूजा हुँदै आएको रानीपोखरीमा भने यस वर्ष छठ पुजा नहुने भएको छ ।

रानीपोखरीको छठपूजानमा यसपटक राजनीतिक खेल भएको छ । राट्रपति विद्यादेवी भण्डारी छठपूजा गर्न आउने पक्का भएपछि वर्षौंदेखि छठपूजा व्यवस्थापन गरिरहेको समितिलाई काम रोक्न लगाएर काठमाडौं महानगरपालिका आफैँले व्यवस्थापन गर्न लागेको समितिका अध्यक्ष राजेन्द्र सिंह बताउनुहुन्छ ।

गुहेश्वरीबाट गौरीघाटसम्म आकर्षक रूपमा सजाएर छठ घाट अर्थात् पूजास्थल निर्माण भइरहेको छ । यस क्षेत्रमा ६५० वटा पूजास्थल निर्माण गरिएको छ । सो क्षेत्रमा पूजा गर्न जाने श्रद्धालुलाई प्रतिघाट ११ सय रुपैयाँ शुल्क लिइने छठ पूजा समितिका सचिव अनिल सिंह बताउनुहुन्छ । गतवर्ष भने प्रतिघाट ७ सय रुपैयाँ लिइएको थियो ।

यता, चाडपर्वलाई मध्यनजर गर्दै प्रहरीले पनि सुरक्षा व्यवस्थालाई कडा पारेको छ । पूजा स्थलमा विशेष निगरानी राख्न प्रहरीले सादा पोशाकका सुरक्षाकर्मी खटाउनेदेखि गस्तीसमेत गर्दैछ । पूजाको समयमा आपराधिक घटना हुन नदिन विशेष सुरक्षा सतर्कता अपनाएको प्रहरी नायब महानिरीक्षक उत्तम सुवेदी बताउनुहुन्छ ।

विभिन्न सरकारी निकायबीच समयन्वय नहुँदा विगत वर्षहरूमा काठमाडौंका विभिन्न स्थानमा आफूखुसी पूजा स्थल निर्माण गरिएकाे थियाे । यस वर्ष रानीपोखरी र कमलपोखरीको पुनर्निर्माण भए पनि सरोकारवाला निकायलाई हस्तान्तरण नभएकाले पूजाका लागि रोक लगाइएकाे महानगरपालिकाले जनाएको छ ।

छठ पूजाका व्रतालुहरू राति पूजा स्थानमै बस्छन् भने अधिकांश व्रतालु साँझ घर फर्कछन् र भोलिपल्ट बिहानै घाटमा आएर उदाउँदो सूर्यलाई अर्घ्य दिने परम्परा छ ।