
काठमाडौं । कैलालीमा गएराती एक युवकको हत्या भएको विरोधमा स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन् । कैलाली, लम्कीका भुपेन्द्र बडुवालको गएराती टीकापुर नगरपालिका–१ मा छुरा प्रहार गरी हत्या भएको छ ।
अपराधीलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै स्थानीय वासिन्दाले लम्कीचुहामा राजमार्ग अवरुद्ध पारेका हुन् । राजमार्ग अवरुद्ध भएपछि सवारी साधनहरु लम्कीमै रोकिएका छन् भने सयौं यात्रुहरु अलपत्र परेका छन् ।
मंगलबार राति टीकापुरको सिद्धार्थ होटल नजिकै दुई समूहबीच भएको झडपमा २२ वर्षीय बडुवालमाथि छुरा प्रहार गरी हत्या गरिएको थियो । प्रहरीले हत्यामा संलग्न भएको आशंकामा चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।
प्रतिक्रिया दिनुहोस्