१२ बैशाख २०८२, शुक्रबार | Sat Apr 26 2025


पालिकामा मतदाता नामावली अद्यावधिक गर्न आयोगद्वारा ११ करोड रुपैयाँ माग


0
Shares

काठमाडौं । निर्वाचन आयोगले पालिकाहरूमा आवधिक मतदाता नामावली संकलनका लागि करिब ११ करोड रुपैयाँ बजेट माग गरेको छ ।

पालिकाहरूमा आवधिक मतदाता नामावली संकलनका लागि साढे आठ करोड तथा जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा नाम दर्ता कार्यलाई निरन्तरता दिन साढे दुई करोड रुपैयाँ माग गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

आयोगले पहाडी र हिमाली पालिकाहरूमा १० दिन र तराई एवं सहरी पालिकाहरूमा १५ दिन मतदाता नामावली संकलन गर्ने उहाँले बताउनुभयो । यस्तै, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा नाम दर्ता कार्यलाई निरन्तरता दिन यसअघिको बजेट सकिएकाले बजेट माग गरिएको आयोगले जनाएको छ ।

आयोगले यसअघि आउँदो मंसिर १ गतेदेखि मतदाता नामावली संकलन गर्ने कार्ययोजना राखेको भए पनि बजेट अभावमा १ गते नै सुरु हुन नसक्ने जनाएको छ । बजेट प्राप्त भए मंसिर ६÷७ गतेदेखि मतदाना नामावली संकलन गरिने आयोगको तयारी छ ।

जिल्ला प्रशासन कार्यालयमा अहिले पनि नियमित रूपमा मतदाता नामावली संकलन भइरहेको छ । तर, पालिका र वडा तहमा एकपटक पुग्नुपर्ने देखिएकाले पालिका तहमा गएर मतदाता नामावली संकलन गर्न लागिएको प्रवक्ता पौडेलले जानकारी दिनुभयो ।