१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


२३ वर्षीय युवकको हत्या आरोपमा कैलालीबाट ८ जना पक्राउ, सबैको नाम सार्वजनिक


0
Shares

कैलाली । लम्कीचुहा नगरपालिका–१ लम्की चौराहका २३ वर्षीय भुपेन्द्र बडुवालको हत्या आरोपमा प्रहरीले जिल्लाबाट ८ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा लम्कीचुहा नगरपालिका–३ चिसापानी बस्ने २४ वर्षीय महेश रावल, सोही ठाउँ बस्ने २० वर्षीय आर्यन देवकोटा, सोही ठाउँ बस्ने २० वर्षीय धिरज शाही, लम्कीचुहा नगरपालिका–१ बस्ने २२ वर्षीय कपिल श्रेष्ठ तथा सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, टिकापुर नगरपालिका–१ बस्ने २३ वर्षीय प्रबीन रिमाल, टिकापुर नगरपालिका–१ बस्ने २१ वर्षीय रोहित आले र सोही ठाउँ बस्ने २६ वर्षीय सोहन शाह रहेका छन् ।

टिकापुर नगरपालिका–१ स्थित सिद्वार्थ होटल नजिकै बडुवालको मंगलबार साँझ धारिलो हतियार प्रहार गरी हत्या भएको थियो । धारिलो हतियार प्रहारबाट घाइते भुपेन्द्रको उपचारको लागि टिकापुर अस्पताल उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

घटनास्थलबाट सु.प.प्र.०१००८ प ५५६५ नम्बरको स्कुटर र सु.प.प्र. ०१००८ प १०७२ नम्बरको मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ । सोही बिषयलाई लिएर मृतकका आफन्तहरूले चिसापानी बजारस्थित महेश रावलको संगम होटल, भैरव शाही र राज बहादुर शाहीको घरमा ढुंगामुडा गर्दा सामान्य क्षति भएको छ ।

घटनामा संलग्न अन्यको खोजी गर्नुको साथै यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।