
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल फ्रान्स प्रस्थान गर्नभएको छ ।
संयुक्त राष्ट्रसंघको शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्कोको ४१ औँ महासभामा भाग लिन मन्त्री पौडेल बुधबार राति ८ः२५ बजे फ्रान्सको राजधानी पेरिस प्रस्थान गर्नुभएको हो ।
१९३ राष्ट्रको प्रतिनिधित्व रहेको महासभा बैठकमा शिक्षा मन्त्री एवं यूनेस्कोको लागि नेपालका अध्यक्ष पौडेलले बिहीबार सम्बोधन गर्ने कार्यक्रम छ ।
युनेस्कोको मुख्यालयमा ९ नोभेम्बरदेखि जारी महासभामा उहाँले राष्ट्रसंघीय दिगो विकास लक्ष्यको लक्ष्य नं ४ अन्तर्गत शिक्षा क्षेत्रमा भएका प्रगति, उच्च शिक्षा तथा समावेशीताजस्ता विषयमा सम्बोधन गर्नुहुने मन्त्रीको सचिवालयले जनाएको छ ।
१२ नोभेम्बरमा सहभागी मुलुकका शिक्षा मन्त्रीको बैठकमा मन्त्री पौडेलले विश्वव्यापी आधुािक शिक्षाजस्ता विषयमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यहाँ रहँदा मन्त्री पौडेलले विज्ञान तथा प्रविधि, समाज विज्ञान, आमसञ्चार, संस्कृति, जलवायु परिर्वतनलगायतका विषयमा छलफल गर्नुहुनेछ ।
शिक्षाको क्षेत्रमा महत्वपूर्ण भूमिका रहेको युनेस्को महासभा बैठक नोभेम्बर १७ सम्म सञ्चालन हुनेछ । महासभाले नयाँ नेतृत्व समेत चयन गर्नेछ ।
महासभामा शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलिया, नेपालका स्थायी प्रतिनिधि राजदूत दीपक अधिकारी, यूनेस्को लागि नेपालका सहायक महासचिव डा। बाबूराम अधिकारी सहभागी हुनुहुनेछ ।
प्रतिक्रिया दिनुहोस्