
काठमाडौं । बहराइनले नेपाललाई आइतबारदेखि कोभिड संक्रमणको खतरा सूचीबाट हटाउने भएको छ ।
बहराइनले कोभिड–१९ संक्रमण रोकथाम गर्न अन्तर्राष्ट्रिय यात्रा सम्बन्धी कडाई गर्ने नीति अनुरुप नेपाललाई यसअघि खतराको सूचीमा राखेको थियो ।
तर, नेपालमा पछिल्लो समय कोभिड संक्रमण घट्दो क्रममा रहँदा बहराइन सरकारले आइतबार राति १२ बजेबाट कोभिड संक्रमणको खतराको सूचीबाट हटाउने निर्णय गरेको हो ।
अब बहराइन जाने नेपाली श्रमिक १० दिन अनिवार्य क्वारेन्टिनमा बस्नु नपर्ने भएको छ । विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्रदान गरिएको खोपको दुवै डोज लगाएका यात्रु क्वारेन्टिनमा बस्नु नपर्ने भएको हो ।
यात्रुले क्युआर कोडसहितको अंग्रेजी भाषामा जारी खोप प्रमाणपत्र अनिवार्य रुपमा राख्नुपर्नेछ । खोप नलगाएका वा खोपको डोज पूर्ण नभएका यात्रुहरू भने आफ्नै निवास वा बहराइन सरकारले निर्धारित स्थानमा क्वारेन्टिनमा बस्नुपर्ने बहराइनस्थित नेपाली दूतावासले जनाएको छ ।
बहराइन पुगेपछि भने विमानस्थल, पाँचौं र १० औं दिनमा पीसीआर परीक्षण गर्नुपर्नेछ ।
प्रतिक्रिया दिनुहोस्