
काठमाडौं । मंसिर ३ गतेबाट आयोजना हुने सहिद स्मारक ‘ए’ डिभिजन लिगका लगि अखिल नेपाल फुटबल संघ (एन्फा) ले टिकट दर निर्धारण गरेको छ ।
त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा एन्फाले आयोजना गरेको पत्रकार सम्मेलनबाट दर्शकलाई रंगशालामा प्रवेश दिने तयारी भएको भन्दै टिकटको मूल्य निर्धारण गरेको जनाएको हो ।
दशरथ रंगशालामा हुने खेलका लागि साधारण प्यारापिटतर्फ एक सय र भीआईपी प्यारापिटतर्फ पाँच सय रूपैयाँ टिकट निर्धारण गरेको एन्फाका महासचिव इन्द्रमान तुलाधारले जानकारी दिनुभयो ।
एन्फाले गत संस्करणको लिगमा भन्दा धेरै दर्शक लक्ष्य राखेर टिकट मूल्य घटाइएको जानकारी दियो । यस्तै लिगलाई उपत्यकाबाहिर लाने योजना स्वरूप मनाङले प्रस्ताव गरेको मैदानमा खेल खेलाउने या लिगका दुई चरणका खेलहरू पोखरामा खेलाउने तयारी भइरहेको एन्फा महासचिव इन्द्रमान तुलाधरले संकेत गर्नुभयो ।
ए डिभिजन लिगका निर्देशक सञ्जीब मिश्रले दुई चरणका खेल तालिका सार्वजनिक भइसेकको र बाँकी खेलका लािग खेल स्थलको टुङ्गो लागिसकेपछि निर्धारण हुने इंकित गर्नुभयो । निर्देशक मिश्रले एक सातामा चार दिन खेल सञ्चालन गर्ने लक्ष्य अनुसार शुक्रबार, शनिबार, आइतबार र सोमबार खेल हुने बताउनुभयो ।
मनाङ मस्र्याङ्दी क्लबको होम ग्राउन्ड पोखरा रंगशाला भएकाले केही खेल त्यहाँ गराउने विषयमा पनि छलफल भइरहेको एन्फाले जनाएको छ । यसअघि कात्तिक २९ गतेदेखि नै लिग सुरु हुने बताइए पनि अन्तिम समयमा आएर आयोजक एन्फाले प्राविधिक कारण देखाउँदै लिग तीन दिन पछि धकेलेको हो ।
पहिलो चरणका खेलहरू शुक्रबार र शनिबार दुवै दिनका खेल दशरथ रंगशलामा तथा आइतबार र सोमबार एन्फा कम्प्लेक्समा हुने एन्फाले जानकारी दियो । त्यसपछिका खेलको तालिका भने केही खेल पछिमात्र निर्धारण गर्ने एन्फाको तयारी छ ।
यस्तै लिग सुरु हुनुअघि कोभिड नेगेटिभको रिपोर्ट बुझाएका खेलाडीलाई प्रतियोगिताका दौरान कोरोना संक्रमण भए क्लब र परिवारलाई बोझ नदिने भन्दै त्यसको उपचारको जिम्मा एन्फाले लिने महासचिव तुलाधरले बताउनुभयो ।
लिग सञ्चालनका लागि एन्फाको बजेट करिब ६ करोड ५० लाख रहेको र त्योमध्ये १ करोड ५० हाराहारीमा कतार एयरवेजले बेहोर्ने छ । नयाँ सिजनको लिगमा १४ क्लबले प्रतिस्पर्धा गर्दैछन् । जस अन्तर्गत मंसिर ३ गते फ्रेन्ड्स र सातदोबाटो युथ क्लबबीच दशरथ रंगशालामा उद्घाटन खेल हुनेछ ।
प्रतिक्रिया दिनुहोस्