
काठमाडौं । नेपाल र चीनबीचको प्रमुख व्यापारिक नाका तातोपानीमा आपूर्ति केही सहज भएको नेपाली अधिकारीहरूले बताएका छन् ।
दुई महिनायता नेपाल भित्रिने कार्गोको संख्या बढेको तातोपानी भन्सारले जनाएको छ । पहिले दैनिक सातदेखि आठवटा कार्गो नेपाल भित्रिने गरेकोमा यो सातादेखि उक्त संख्या बढेर १३ देखि १८ वटासम्म पुगेको भन्सार कार्यालयले जनाएको छ ।
चीनबाट हाल स्याउ, ओखर, तयारी लुगा, जुत्ता, रासायनिक मल आदि आपूर्ति भइरहेको छ । व्यवसायीहरूले आफ्नो सामान नाकापारी रोकिएको गुनासो गरे पनि कति सामान रोकिएका छन् भन्ने बारे भने स्पष्ट विवरण नभएको भन्सारका अधिकारीले बताएका छन् ।
चीनले नेपाल पठाउने कार्गो संख्या बढे पनि नेपालतर्फको पूर्वाधार व्यवस्थित नभएसम्म समस्या समाधान नहुने व्यवसायीहरूको भनाइ छ । कन्टेनर बढेसँगै तातोपानी बजारमा रौनक छाएको छ ।
गत साता सभामुख अग्निप्रसाद सापकोटा, अर्थमन्त्री जनार्दन शर्मालगायत तातोपानी नाकाको अवस्था निरीक्षणका लागि पुगेका थिए । व्यवसायीहरूले सडक विस्तार र व्यवस्थापनको विषयमा मन्त्री शर्माको ध्यानाकर्षण गराएका थिए ।
प्रतिक्रिया दिनुहोस्