
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धन टुट्ने होकि भन्ने आशंका नपाल्न पार्टीका नेता, कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।
अध्यक्ष नेपालले आसन्न राष्ट्रियसभाको निर्वाचन र रिक्त रहेको प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचनमा मिलेर उम्मेदवारी दिने र विजयी बनाउने सत्तारुढ दलबीच सहमति भएको र त्यसले गठबन्धनलाई टुटाउने खोज्नेहरूको सपनालाई चकनाचुर पारेको दावीसमेत गर्नुभयो ।
सानेपास्थित हेरिटेज प्लाजामा शनिबारबाट सुरु भएको पार्टी केन्द्रीय कमिटीको बैठकमा बोल्दै उहाँले सत्तारुढ गठबन्धनको आयू लामो छैन भन्नेहरूलाई जवाफ दिनेगरी आफूहरूले राष्ट्रियसभाको निर्वाचन तथा उपनिर्वाचनमा मिलेर उम्मेदवारी दिने र विजयी गराउने सहमति गरिसकेको स्पष्ट पार्नुभयो ।
अध्यक्ष नेपालले दुई वटा निर्वाचनको परिणाम सकारात्मक आउने र गठबन्धनबीचको सहकार्य झनै कसिलो भएर जाने तर्क समेत गर्नुभयो । कार्यक्रममा बोल्दै पार्टीका सम्मानित नेता झलनाथ खनालले सत्तारुढ गठबन्धनबीचको सहकार्यलाई पार्टीको तल्लो कमिटीसम्म लैजानुपर्नेमा जोड दिनुभयो ।
खनालले एमालेको ठूलो पंक्ति अलमलमा रहेको उल्लेख गर्दै त्यसलाई पार्टीमा ल्याउने गरी उत्साहका साथ काम गर्न पनि पार्टीको सिंगो पंक्तिलाई आह्वान गर्नुभयो ।
बैठकमा बागमती प्रदेशका मुख्यमन्त्री एवम् पार्टीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे र प्रदेश १ का मुख्यमन्त्री एवम् पार्टीका सचिव राजेन्द्र राईले आ– आफ्नो प्रदेश सरकारको योजनाबारे बिफ्रिङ गर्नु भएको थियो । नेकपा (एकीकृत समाजवादीको केन्द्रिय कमिटीको बैठक आइतबारसम्म चल्ने पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्