१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


नुवाकोट र गोरखामा ५० हजार आवास पुनर्निर्माण सम्पन्न


0
Shares

काठमाडौं । भारत सरकारको सहयोगमा नुवाकोट र गोरखा जिल्लामा ५० हजार आवास पुनर्निर्माण कार्य सम्पन्न भएको छ ।

सोमबार भारतीय दूतावासले काठमाडौंमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, यूएनडिपी र यूएनओपिएसँगको सहकार्यमा एक कार्यक्रम आयोजना गर्र्दै भारत सरकारको सहयोगमा नुवाकोट र गोरखा जिल्लामा ५० हजार आवास पुनर्निर्माण कार्य सम्पन्न भएको जानकारी गराएको हो ।

कार्यक्रममा भारतीय दूतावासकी नियोग उपप्रमुख नामग्यसी खम्पाले भारत सरकारले प्रतिवद्धता जनाएअनुरूप ५० हजार निजी घरहरूको पुनर्निर्माण कार्य सफलतापूर्वक सम्पन्न भएको बताउनुभयो । उहाँले नेपाललाई भारत सरकारले पुनर्निर्माणको क्षेत्रमा सहयोग गरिरहेको बताउँदै गोरखा, नुवाकोट र काठमाडौंलगायतका क्षेत्रमा सांस्कृतिक सम्पदाहरू पुनः निर्माणमा सहयोग गरिरहेको बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भारतले गरेको सहयोगका लागि धन्यवाद दिन्ुभयो । उहाँले भारत सरकारले नेपाललाई पुनर्निर्माणका लागि धेरै स्थानमा सहयोग गरेको बताउँदै भारतले उपलब्ध गराउने रकम उचित क्षेत्रमा प्रयोग हुने बताउनुभयो ।

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले गोरखा र नुवाकोट जिल्लाका ४ नगरपालिका र १४ गाउँपालिकाका भूकम्प प्रभावित लाभग्राहीलाई सामाजिक–प्राविधिक सहजीकरण तथा परामर्श सेवा उपलब्ध गराउन सन् २०१८ मा भारत सरकारले युएनडिपी र युएनओपिएसलाई यस परियोजनामा संलग्न गराएको बताउनुभयो ।

ज्ञवालीले १०० मिलियन अमेरिकी डलर अनुदान र चौथो लाइन अफ क्रेडिट अन्तर्गतको ५० मिलियन अमेरिकी डलरसहित ५०,००० घरको पुनर्निर्माणका लागि आर्थिक र प्राविधिक सहयोग प्रदान गर्न आवास क्षेत्रमा भूकम्प पछिको सहायता प्याकेजको रुपमा भारत सरकारले १५० मिलियन अमेरिकी डलरको प्रतिवद्घता जनाएअनुरुप काम सम्पन्न भएको बताउनुभयो ।

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले निजी आवास पुनर्निर्माण परियोजनालाई प्रभावकारी ढङ्गले सफलतापूर्वक सम्पन्न गर्न स्थानीय सरकार र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका निकायहरूले महत्वपूर्ण भूमिका खेलेको पनि स्मरण गराउनुभयो ।