
काठमाडौं । हिमाली जिल्ला, त्यसमाथि ब्लड बैंक नभएको र प्राविधिक जनशक्तिको अभाव भएको सोलुखुम्बुमा रक्तदान गर्नु सजिलो काम होइन । चुनौतीको बाबजुद लायन्स क्लब अफ काठमाडौं ब्लड सर्कलले सल्लेरीको दोर्पुस्थित योङ स्टार क्लबसँग मिलेर ७१ पिन्ट रगत संकलन गर्न सफल भएको अनिलरत्न तुलाधर बताउनुहुन्छ ।
सल्लेरी बजार, सगरमाथाको आधार शिविर जाने मुख्य नाका तथा जिल्लाको सदरमुकाम पनि हो । सोलुमा जिल्ला अस्पतालमा ब्लड बैंक छैन, त्यसैले पनि रगत अभाव भइरहन्छ । हुनेखानेले हेलिकप्टर चार्टर गर्छन् । तर, न्यून आय भएका स्थानीय सोलुबासीलाई अझै समस्या रहेको स्थानीय एवं योङ स्टार क्लब सल्लेरीका दीपक राजभण्डारी बताउनुहुन्छ ।
अस्थिर सरकार र अदूरदर्शी विकास योजनाको प्रभाव देशैभर छ । विकास पूर्वाधारको सन्दर्भमा कर्णाली र सुदूरपश्चिम प्रदेश पछाडि परेको भनिरहँदा पूर्वी नेपालको सोलुखुम्बुको अवस्था पनि उस्तै छ । जिल्लामा अस्पताल भए पनि जटिल प्रकृतिको स्वास्थ्य उपचारका लागि काठमाडौं नै धाउनु पर्ने बाध्यता छ ।
सल्लेरीस्थित योङ स्टार क्लबसँगको सहकार्यमा लायन्स क्लब अफ काठमाडौं ब्लड सर्कलले सोलुमा बृहत् रक्तदान गरेर दुई वटा प्रतिकात्मक सन्देश दिएको छ । पहिलो, संसारकै उच्च स्थानमा बृहत् रक्तदानको आयोजना र दोस्रो, सोलुखुम्वु जिल्लामा ब्लड बैंक स्थापना गराउने सन्देश ।
काठमाडौंदेखि कात्तिक २५ गते हिँडेको जम्बो टोलीसँगै सल्लेरीको सुरक्षा संयन्त्र अन्तर्गत जनपथ प्रहरी, सशस्त्र प्रहरी, खेलाडी तथा स्थानीय क्लबमा आवद्ध भएकाहरूले रक्तदान गरेका थिए । विश्वकै उच्च स्थानमा रक्तदान गर्ने कार्यक्रमका लागि कान्तिपुर अस्पतालको ब्लड ट्रान्सफ्यूजन सेन्टरले प्राविधिक संयोजन गरेको थियो ।
यस्तै, स्थानीय जनप्रतिनिधि, रोटरी क्लब अफ ठमेल, पिएमजेएफ दिपक खरेल, सेकेन्ड भिडिजी मणिश्री रत्न बज्राचार्य, योगेश जोशी, टीका होलिडेज्, हिमाली ब्रेड, हिलबर्ड सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेड, तारा एअर, तारामण्डल महिला सशक्तीकरण अभियान, रिलायन्स सिमेन्ट, धालासिक्व टोल संरक्षण परिवारले आवश्यक सहयोग गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्