
काठमाडौं । वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वकिलहरूको काँधमा राखेर न्यायालयमा बन्दुक पड्काएको आरोप लगाउनुभएको छ ।
काठमाडौंमा भएको एक साक्षात्कारमा बोल्दै वरिष्ठ अधिवक्ता न्यौपालेने अध्यक्ष दाहालको निर्देशन र षड्यन्त्रअनुसार न्यायालयमाथि धावा बोलिएको आरोप लगाउनुभयो ।
उहाँले भन्नुभयो, ‘प्रचण्डले वकिलहरुको काँधमा राखेर न्यायालयमा बन्दुक पड्काए । पुष्पकमल दाहालको कब्जामा अदालत थिएन, त्यही भएर उनले अहिले अदालतमा बन्दुक पड्काए । नेपाललाई सिक्किम र अफगानिस्तान बनाउने योजनामा प्रचण्ड छन् । अब टालटुले नगरौं । कार्पेटमुनिको सबै फोहोर फालौं । नेपाली जनता अब सडकमा आउनुपर्छ । यसको विकल्प छैन् ।’
उहाँले नागरिकलाई चाहिने सबैभन्दा महत्वपूर्ण दुई निकायमा अदालत र अस्पताल भएको बताउँदै आन्दोलनकारी वकिलहरुको निर्देशनमा निर्दोष नागरिकलाई थुनामा राखिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘नागरिकलाई चाहिने यी दुई वटा कुरामा अहिले अदालतमा वितण्डा मच्चाइएको छ । नागरिक जाने थलो भएकोले अदालतमा गार्ड राखिँदैन । खुल्ला इजलास हुन्छ । आफ्नो मुद्दा दर्ता गर्न पाउँछ ।’
उहाँले थप्नुभयो, ‘आजमात्रै १५–२० जना मान्छे नेपालका लागि नेपालीहरु सागर खड्काहरु थुनामा राखिएका छन् । प्रहरी प्रशासन लगाएर यातना दिएर पक्राउ गरेको छ । आन्दोलनकारी वकिलहरुको निर्देशनले थुनामा राखिएको छ । यसको म निन्दा गर्दछु ।’
वरिष्ठ अधिवक्ता न्यौपालेनेले न्यायाधीशहरुले बेन्च बहिष्कार गर्नु व्यवस्थाको असफलताको पराकाष्ठा भएको दाबी पनि गर्नुभयो । नेपाल परिवर्तनको संघारमा पुगेको बताउँदै उहाँले नक्कली व्यवस्थाविरुद्ध जनता आन्दोलित हुनुको विकल्प नरहेको तर्क गर्नुभयो ।
माधवकुमार नेपाल र बाबुराम भट्टराईको मुद्दा जिताउन सकिँदैन भनेपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाको राजीनामा मागिएको उहाँले खुलासा गर्नुभयो । उहाँले अदालतमा प्रचण्डका कार्यकर्ता छिरेकोसमेत आरोप लगाउनुभयो । सेटिङ नमिलेपछि अदालतलाई बन्धक बनाइएको तर्क गर्दै उहाँले व्यवस्था नै परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो ।
वरिष्ठ अधिवक्ता न्यौपानेले प्रधानन्यायाधीशले राजीनामा दिए न्यायपालिका नै सकिने तर्क गर्नुभयो । उहाँले भन्नुभयो, ‘प्रधानन्यायाधीशले राजीनामा दिए नेपालको स्वतन्त्र न्यायापालिका सिद्दिन्छ । भूमिगत गिरोहको नियन्त्रणमा अदालत जान्छ । रुलको होइन, हुलको शासन सुरु हुन्छ ।’
प्रतिक्रिया दिनुहोस्