
काठमाडौं । पेट्रोलियम पदार्थमा गरिएको भारी मूल्यवृद्धिको विरोधमा नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले गरेको नेपाल बन्दको आंशिक प्रभाव देखिएको छ ।
उपत्यकामा सार्वजनिक यातायात र शैक्षिक क्षेत्रमा प्रभाव परे पनि बजार र निजी सवारीमा भने खाशै असर देखिएको छैन । उपत्यकामा विहान सार्वजनिक सवारी साधनहरू न्युन मात्रामा चल्दा विहानको समयमा घर बाहिर निस्कनेहरुले भने सास्ती भोग्नु परेको छ ।
यस्तै रात्री वसमा काठमाडौं आएकाहरुले सार्वजनिक सवारी नपाउँदा सास्ती भोग्नु परेको छ । नयाँबसपार्क, कलंकी, कोटेश्वर, बल्खु, लगायतका स्थानमा यात्रुले सार्वजनिक यातायातका लागि प्रतीक्षा गरिरहेका देखिन्छन् ।
उपत्यकाबाट ज्यादै कम मात्रामा लामो दूरीका गाडीहरु बाहिरिएका छन् । उपत्यकामा निजी सवारी साधन भने सामान्य अवस्थामा चलेका छन् । विद्यालय तथा कलेजहरु भने आज ठप्प रहेका छन ।
उपत्यकाका चोकचोकमा सुरक्षाकर्मीहरूको बाक्लो तैनाथी देखिन्छ । बन्दका क्रममा कुनै अप्रिय घटना नभएको र बन्दकर्ताले जबर्जस्ती नगरेको प्रहरीले जनाएको छ । विहानै काठमाडौंको साँखुबाट २ र महारागञ्जबाट ३ गरी ५ जनालाई नियन्त्रणमा लिइएको पनि प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्