
काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आज घरेलु टोली कतारसँग दोस्रो टी–ट्वान्टी क्रिकेटमा प्रतिस्पर्धा गर्दैछ । दोहास्थित वेस्ट इन्ड पार्क स्टेडियममा हुने खेल दिउँसो पौने चार बजे सुरु हुनेछ ।
पहिलो खेलमा ११९ रनको जित निकालेको नेपाली टोली आज पनि कतारलाई हराएर एक खेल अगावै सिरिज जित्ने दाउमा हुनेछ । आईसीसी महिला टी–ट्वान्टी विश्वकपको एसियाली छनोटको तयारी स्वरूप नेपालले कतारसँग तीन खेलको सिरिज खेलिरहेको हो ।
अन्तिम खेल बिहीबार हुनेछ । नेपाली महिला टोलीको यो पहिलो टी–ट्वान्टी अन्तराष्ट्रिय सिरिज हो । विश्वकप छनोट भने नोभेम्बर २२ देखि २८ सम्म दुबईमा आयोजना हुनेछ । नेपाली टिम कतारबाटै नोभेम्बर १९ मा दुबई प्रस्थान गर्ने छन् ।
प्रतिक्रिया दिनुहोस्