१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सेतीको धार परिवर्तन गरेर खुलाइयो राजमार्ग, नदी बढे फेरि अवरुद्ध हुने

महंगी र कालोबजारी बढ्यो

0
Shares

डीबी विष्ट
बझाङ । महिनाैंदेखि बझाङको एक मात्रै जयपृथ्वी राजमार्ग अवरुद्ध भएपछि स्थानीयलाई सास्ती भएको छ । बेमौसमी वर्षाका कारण सेती नदीले जाल्या बगर र नारुगौडामा सडक बगाएपछि राजमार्ग अवरुद्ध बनेको हो ।

राजमार्ग अवरुद्ध बनेपछि सदरमुकाम चैनपुरमा दैनिक उपभोग्य सामानको मूल्य आकासिनुका साथै कालोबजारी मौलाएको छ । राजमार्ग अवरुद्ध भएको महिनौं पुग्दा पनि मर्मत नहुँदा जिल्ला बाट बाहिर जाने विरामी तथा काममा जानेहरूले समस्या भोगिरहेका छन् ।

लगातार चार दिनसम्म परेको वर्षाले सेती नदीमा पानीको सतह बढ्न गई कार्तिक २ गते राजमार्ग बगाएको जगदिश रोकाय बताउनुहुन्छ । अहिले नारुगौडामा बम ब्लास्ट गर्दै चट्टान फुटाएर सडक खुलाउने काम भइरहेको छ । त्यस्तै जाल्या बगरमा सेती नदीको धार नै परिवर्तन गरेर अस्थायी सडक सञ्चालन गरिएको छ ।

राजमार्ग तत्काल सञ्चालनमा आए पनि स्थायी नहुने स्थानीय बसन्त प्रताप सिंहको बुझाइ छ । सेती नदीमा पानीको बहाव बढ्नेबित्तिकै राजमार्ग पुनः अवरुद्ध हुने उहाँ बताउनुहुन्छ । जतिसक्दो चाँडो दीगो रूपमा सडक सञ्चालन गर्नुपर्ने स्थानीयको माग छ ।

अहिले जिल्लाको मुख्य जयपृथ्वी राजमार्ग सहित अन्य ६ वटा शाखा सडकहरू समेत अवरुद्ध छन् । राजमार्ग सुचारु गर्न सडक डिभिजन कार्यालयले तदारुकता नदेखाएको स्थानीयको आरोप छ । सडकको काम गुणस्तरहीन भएकाले स्थानीयले पटक–पटक सास्ती बेहार्नुपरेको उनीहरूको बुझाइ छ ।

बझाङका सडकहरू पनि बैतडीस्थित सडक डिभिजन कार्यालयले हेर्ने भएकाले अवरुद्ध हुनेबित्तिकै सडक सञ्चालन नहुने स्थानीयको गुनासो छ । यता, बझाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी मोहन अधिकारी भने आफूहरू सडक सञ्चालननका लागि लागि परेको बताउनुहुन्छ ।

राजमार्ग बन्द भएपछि विरामीहरूलाई पिठ्युमा बोकेर सवारीका साधन भएको ठाँउसम्म पुर्याउनुपर्ने बाध्यता छ । राजमार्गलाई दीगो रूपमा सञ्चालन गर्न ध्यान नदिने हो भने जिल्लामा महंगी र कालोबजारी मौलाउनुका साथै यात्रु र स्थानीयले सास्ती पाउनेछन् ।