
काठमाडौं । वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले न्यायाधीशहरूले प्रधानन्यायाधीशसँग बेञ्च सेयर गरेमा आफूहरूले बेञ्च बहिस्कार गर्ने बताउनुभएको छ ।
बिहीबार नेपाल बार एशोसिएसनको सर्वोच्च अदालतमा धर्नापछि बार एशोसिएसनको भवन परिसरमा कानुन व्यवसायीहरूलाई सम्बोधन गर्दै वरिष्ठ अधिवक्ता शाक्यले गोलाप्रथाको नाममा प्रधानन्यायाधीश बेञ्चमा बसे बार एशोसिएसनको आपत्ति रहने बताउनुभयो ।
उहाँले प्रधानन्यायाधीशसँग न्यायाधीशहरूले बेञ्च सेयर गरेमा बारले बेञ्च बहिष्कार गर्ने स्पष्ट पार्नुभयो । उहाँले प्रधानन्यायाधीशलाई वैधता दिने काममा आफूहरूले स्वीकार नगर्ने बताउनुभयो ।
‘तपाईँको कुनै पनि प्रक्रियाले प्रधानन्यायाधीशलाई वैधता प्रदान गर्ने कुनै पनि कदमप्रति हाम्रो सहमति, समझदारी र स्वीकार्यता हुँदैन,’ उहाँले भन्नुभयो, ‘हाम्रो आन्दोलन निरन्तर रहन्छ, अटोमेशनबाट जानुपर्छ, त्यो नभएसम्म गोलाप्रथाबाट जानुपर्छ भन्ने हाम्रो पनि माग हो ।’
वरिष्ठ अधिवक्ता शाक्यले न्यायाधीशहरू र कानुन व्यवसायीहरूले तिरस्कार गरिसकेपछि पनि न्यायपालिका चलाउनु भनेर आँट गर्नु प्रधानन्यायाधीशको दिवा सपना मात्र भएको बताउनुभयो । उहाँले प्रधानन्यायाधीशलाई डुब्दै गरेको घामको संज्ञा दिनुभयो ।
त्यसैगरी कार्यक्रममा बोल्दै वरिष्ठ अधिवक्ता हरिहर दाहालले प्रधानन्यायाधीशको सम्मानजनक बर्हिगमन भनेको राजीनामा भएको उल्लेख गर्नुभयो । प्रधानन्यायाधीशले बर्हिगमनको बाटो नलिएमा सर्वोच्च अदालत प्रवेश गर्ने वैकल्पिक गेट पनि बन्द गर्ने उहाँले चेतावनी दिनुभयो ।
सर्वोच्च अदालत परिसरमा प्रहरी भित्राएर कानुन व्यवसायीहरूमाथि बर्बरतापूर्ण आक्रमण गरेको भन्दै उहाँले प्रहरीको आक्रमण तत्काल बन्द गर्न गृहमन्त्रीलाई आग्रह गर्नुभयो ।
अधिवक्ता ओम प्रकाश अर्यालले कानुन व्यवसायीमाथि भएको आक्रमण मानव अधिकार र अन्तर्राष्ट्रिय कानुनको पनि विषय भएकाले यस विषयलाई अन्तर्राष्ट्रिय निकायमा लैजाने चेतावनी दिनुभयो । यो मुद्दा संयुक्त राष्ट्रसंघका निकायमा लैजाने उहाँको भनाइ छ ।
नेपाल बार एसोसिएसनले शुक्रबार पनि सर्वोच्च अदालतमा धर्ना दिएको छ । धर्नाका क्रममा प्रहरीले बल प्रयोग गर्दा नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित अधिवक्ताहरू प्रकाश महर्जन, कपिल पोखरेल, निकेश श्रेष्ठ, युवराज बञ्जाडे, रोमन कर्ण, ऋषिराम घिमिरे, गोपाल सापकोटा लगायत घाइते हुनुभएको बारले जनाएको छ ।
धर्नाका क्रममा कानुन व्यवसायीहरूले बिचौलियालाई कारबाही गर, दंगा प्रहरी फिर्ता गर, भ्रष्ट प्रधानन्यायाधीश राजीनामा दे, बिचौलियाको अन्त्य गर लगायतका नाराबाजी समेत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्