२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


नेपाल र बंगलादेशबीच पर्यटन प्रवर्द्धनसम्बन्धी समझदारी


0
Shares

पोखरा । नेपाल र बंगलादेशबीच पर्यटन प्रवर्द्धनसम्बन्धी समझदारी भएको छ ।

दुई देशबीच पर्यटकीय सम्बन्धलाई थप बलियो बनाउन बंगलादेशका पर्यटन व्यवसायी र पोखराका पर्यटन व्यवसायीबीच पर्यटकीय साझेदारी सम्बन्धी सहमति भएको हो ।

प्यासिफिक एशिया ट्राभल एशोसिएसन(पाटा) नेपालको निमन्त्रणमा नेपालको परिचयात्मक भ्रमणमा रहेको पाटा बंगलादेशका पदाधिकारी सहित त्यहाँका पर्यटन व्यवसायीसँगको भेटमा साझेदारीको सहमति भएको हो ।

पर्यटकीय साझेदारी बढाउँदै कोरोना प्रभावित पर्यटनलाई पूर्ववत् अवस्थामा फर्काउनु जरुरी रहेकोमा सहभागीहरूले जोड दिए । पोखरा पर्यटन परिषदको आयोजना, नेपाल पर्यटन बोर्डको प्रवद्र्धन एवम् पाटा नेपालको संयोजनमा पोखरामा यस सम्बन्धी कार्यक्रम भएको हो ।

कार्यक्रममा सहभागीहरूले कोरोना महामारीका कारण प्रभावित पर्यटनलाई साझेदारीका माध्यमबाट अघि बढाउन सकिएमा चाँडै नै पर्यटन क्षेत्रमा राम्रो सन्देश जाने बताए ।

पाटा नेपालका कार्यकारी सदस्य टीकाराम सापकोटाले कोरोना प्रभावित पर्यटनलाई उठाउनु अहिलेको आवश्यकता भएको बताउँदै छिमेकी राष्ट्रबीचको पर्यटकीय साझेदारी अपरिहार्य भएको बताउनुभयो । कोरोनाअघि नेपालमा वार्षिक २६ हजारको सङ्ख्यामा बंगलादेशका पर्यटक आउने गरेको उहाँले बताउनुभयो ।

पाटा बंगलादेशका अध्यक्ष शहिद हमिदले नेपाल दृश्यावलोनका लागि आकर्षक गन्तव्य रहेको बताउँदै यहाँका हिमाली दृश्यले बंगलादेशका पर्यटकलाई लोभ्याउने गरेको बताउनुभयो । नेपाल र बंगलादेशबीच पर्यटकीय सम्बन्धलाई बलियो बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।