
काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले स्थानीय तहको निर्वाचन समयमा नै हुने बताउनुभएको छ ।
मन्त्रिपरिषद् निर्णय सार्वजनिक गर्ने क्रममा शुक्रबार सिंहदरबारमा मन्त्री कार्कीले सरकार लोकतन्त्रप्रति प्रतिबद्ध रहेको बताउँदै लोकतान्त्रिक संस्थाहरूलाई प्रभावकारी बनाउन सरकारले समयमानै स्थानीय तहको निर्वाचन गर्ने बताउनुभयो ।
स्थानीय सरकारलाई केन्द्र सरकार र संविधानले महत्व दिएको स्मरण गराउँदै उहाँले समयमानै स्थानीय तहको निर्वाचन सम्पन्न गरेर स्थानीय सरकारमार्फत जनतालाई लाभान्वित गराउने दिशामा सरकार अग्रसर रहेको बताउनुभयो ।
संविधान जारी गर्दै गर्दा आफूहरूले सिंहदरबारको सेवासुविधालाई जनताको घरदैलोमा पुर्याउने वाचा गरेको स्मरण गराउँदै उहाँले स्थानीय सरकारबारे अहिलेको अनुभवलाई दृष्टिगत गर्दै प्रभावकारी जनतालाई सेवासुविधा उपलब्ध गराउन प्रतिबद्धता व्यक्त गर्नुभयो ।
स्थानीय तहको पदाधिकारीको अवधि जेठ ५ गते सकिँदैछ । पदावधी सकिनु दुई महिना अगाडि निर्वाचन हुनुपर्ने संवैधानिक व्यवस्था छ । पदाधिकारी विहीनताको अवस्था आउन नदिने उहाँको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्