२ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025

फासेफुसेहरू कांग्रेसको औंला नसमाति हिँड्नै सक्दैनन् : ओली


0
Shares

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ केही दलहरू कांग्रेसको औंला नसमाति हिँड्नै नसक्ने आरोप लगाउनुभएको छ ।

अध्यक्ष ओलीले एमालेले भने कसैले बैशाखी नटेक्ने र आगामी निर्वाचनमा विजय हासिल गर्ने दावी गर्नुभयो । नेपाल संवत् ११४२ को अवसर पारेर शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उहाँले कांग्रेसको औंला समातेर हिँडन पल्केकाहरूलाई कांग्रेसले कहिलेसम्म औंला दिने हो भन्ने थाहा नभएको पनि बताउनुभयो ।

अध्यक्ष ओलीले नेकपा एमाले फोहोरविनाको स्वच्छ भएको दावी गर्दै पार्टीभित्र एकमना एकताका साथ अघि बढने दृढता व्यक्त गर्नुभयो । उहाँले राष्ट्र निर्माणका लागि पनि एमाले एकतावद्ध भएर अघि बढनुको विकल्प नरहेको दोहोर्‍याउनु भयो ।

अध्यक्ष ओलीले भन्नु भयो, ‘अब अरु फासफुसेहरू चाँहीसँगै जान्छौं भन्छन् । अनि कांग्रेसको औंला नसमाति त हिँडनै सक्दैनन्, कसरी जाँदैनन् ? आफ्नो सरकार ढालेर कांग्रेसको सरकार बनाइदिनेहरू, कांग्रेसको औंला समातेर हिँडन पल्केकाहरू । तर, कांग्रेसले कहिलेसम्म औंला दिन्छ, मलाई थाहा छैन । तर नेकपा एमाले कसैको बैशाखी टेकेर होईन, आफै चुनाव लडन सक्षम छ । आफैं चुनाव लड्छ, आफैँ जित्छ ।’

अध्यक्ष ओलीले ‘इतिहास झल्कने, आधुनिकता टल्कने’ गरी सम्पदाहरूको पुनर्निर्माणमा आफूहरूले जोड दिएको स्मरण गराउनुभयो । उहाँले चाडपर्वै पिच्छे फरक–फरक धुन हुने मुलुक नेपालबाहेक विश्वमा कहीँ पनि नभएको बताउनुभयो ।

Watch on TikTok