
काठमाडौं । अघिल्ला चार साता लगातार घटेको वाणिज्य बैंकहरूको निक्षेप १० अर्ब रुपैयाँले बढेको छ ।
असोज मसान्तदेखि कात्तिक २६ सम्म निक्षेप करिब ४५ अर्ब रुपैयाँले घटेको थियो । तर, कात्तिक अन्तिम साता भने यस्तो निक्षेप करिब १० अर्ब रुपैयाँले बढेको राष्ट्र बैंकको तथ्याङ्क छ ।
उक्त अवधिमा दशैं तिहारमा वित्तीय प्रणालीबाट बाहिरिएको पैसा भित्रिएको र केही मात्रामा सरकारी खर्च पनि बढेकाले निक्षेपमा सुधार देखिएको बताएको छ ।
राष्ट्र बैंकका अनुसार गत कात्तिक मसान्तसम्म वाणिज्य बैंकहरूको कुल निक्षेप ४२ खर्ब ३३ अर्ब रुपैयाँ छ । कात्तिक तेस्रो साता यस्तो निक्षेप ४२ खर्ब २३ अर्ब रुपैयाँ थियो । यस्तै वाणिज्य बैंकहरुको कर्जा प्रवाह भने करिब ७ अर्ब रुपैयाँले बढेको छ ।
तरलता अभाव रहेकाले नयाँ कर्जा प्रवाह रोकिएको भनिए पनि तथ्याङ्कले बैंकहरूले कर्जा लगानी रोकिएको देखाउँदैन ।
हरेक साता कर्जा प्रवाह बढिरहेकाले यस्तो देखिएको हो । जसअनुसार गत असोज मसान्तदेखि कात्तिक मसान्तसम्म वाणिज्य बैंकहरूको कर्जा प्रवाह ३६ अर्ब रुपैयाँले बढेको छ ।
गत असोज अन्तिम साता वाणिज्य बैंकहरूको कुल कर्जा तथा सापटी ३९ खर्ब ९८ अर्ब रुपैयाँ थियो । कात्तिक अन्तिम सातासम्म आइपुग्दा यस्तो कर्जा लगानी बढेर ४० खर्ब ३४ अर्ब रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्