
काठमाडौं । एमाले उपाध्यक्ष भीम रावलले पार्टीको आसन्न दशाैं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणाले अध्यक्ष केपी शर्मा ओलीलाई निर्विकल्प अध्यक्ष बनाउन ओली निकटका नेताहरूले गरेको प्रयास असफल भएको छ ।
रावलले आइतबार अध्यक्षमा उम्मेदवारी दिएपछि ओलीलाई प्रतिस्पर्धाविनै फेरि अध्यक्ष बनाउने योजना सफल नभएको हो । रावल निकट एक नेताले ओली प्रवृत्तिका विरुद्ध रावलले उम्मेदवारी दिनुपरेको ईमेजखबरलाई बताए ।
महाधिवेशनको प्रतिनिधि छनाेट प्रक्रियामा नै ओलीले एकलौटी गरेकाे ती नेताकाे दाबी छ । हुनत प्रतिस्पर्धा जित्नकै लागि गरिने हो । तर, अप्रत्यासित नतिजा पनि आउन सक्छ । यद्यपि अहिलेको स्थितिमा रावलले जित्ने सम्भावना कम भएकाे ती नेताकाे भनाइ छ ।
तर ओली पक्षका एक नेता भने ओलीलाई निर्विकल्प अध्यक्ष बनाउने चाहना आफूहरूको नभएको बताउँछन् ।
‘ओलीले अध्यक्षमा जित्ने निश्चित छ,’ ती नेताले भने, ‘रावलको उम्मेदवारी अन्तिमसम्म कायमै रहेको अवस्थामा प्रतिस्पर्धाबाटै आफू अध्यक्ष बनेकोमा ओलीले गौरव गर्नुहुनेछ ।’
ओली निकटका अर्का नेता भने रावलले पार्टीमा वरिष्ठ नेताको पद सुरक्षित गर्न अध्यक्षमा उम्मेदवारी दिनुभएको बताउँछन् । अहिले उपाध्यक्ष रहनुभएका रावललाई ओलीले वरिष्ठ उपाध्यक्ष बनाउन नचाहेपछि रावलको अध्यक्षमा उम्मेदवारी आएको ती नेताको दाबी छ ।
अध्यक्षमा उठेपछि चुनाव नजिते पनि वरिष्ठ नेताको पद पाउने आशा रावलमा रहेको उनको भनाइ छ ।
‘पार्टी विधानमा वरिष्ठ नेताको व्यवस्था नभए पनि पूर्व अध्यक्ष र अध्यक्षमा निर्वाचन हारेकालाई वरिष्ठ नेता बनाउने अभ्यास राजनीतिक दलहरूमा छ,’ ती नेता भन्छन्, ‘एमालेले पनि त्यही गर्न सक्छ ।’
एमालेको दशौं महाधिवेशन यहि मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ ।
प्रतिक्रिया दिनुहोस्