
काठमाडौं । निर्वाचन आयोगले मंसिर १७ गतेदेखि स्थानीय तहको केन्द्रबाट पनि मतदाता नामावली संकलन सुरु गर्ने भएको छ ।
हाल ७७ जिल्ला प्रशासन कार्यालय र ४० इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली संकलन भइरहेकामा अब स्थानीय तहको केन्द्रबाट पनि मतदाता नामावली संकलन गरिने आयोगले विज्ञप्तिमार्फत जनाएको छ ।
आयोगका अनुसार इलाका प्रशासन कार्यालय र जिल्ला प्रशासन कार्यालय रहेका भन्दा बाहेकका ६ सय ३७ स्थानीय तहको केन्द्रमा मतदाता नामावली संकलन हुनेछ ।
हिमाली र पहाडी जिल्लाका स्थानीय तहमा १० दिनसम्म र तराई, भित्री मधेश तथा काठमाडौं उपत्यकाका स्थानीय तहमा १५ दिनसम्म मतदाता नामावली संकलन गरिने आयोगले जनाएको छ ।
आयोगले १६ वर्ष उमेर पूरा भई नेपाली नागरिकता प्राप्त गरेकाहरुको विवरण संकलन गर्ने गरेको छ । तर, मतदाता नामावलीमा नाम भने १८ वर्ष पूरा भएपछि मात्र समावेश हुनेछ ।
आयोगले मंसिर १७ गतेदेखि सबै निर्वाचन कार्यालयबाट अन्य जिल्लाका नागरिकको पनि विवरण संकलन गर्ने भएको छ । हाल स्थायी ठेगाना रहेका जिल्ला प्रशासन कार्यालय र निर्वाचन कार्यालयबाट मात्र मतदाता नामावली संकलन भइरहेको छ ।(
प्रतिक्रिया दिनुहोस्