१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


राणालाई पदमुक्त गराउन सभामुखदेखि दलका नेताहरूसँग सहयोग माग्दै बार, कसकाे जवाफ के ?


0
Shares

काठमाडौं । नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई पदमुक्त गर्न सभामुख अग्नि सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसा तिमिल्सेना र संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग सहयोग मागेको छ ।

प्रधानन्यायाधीश राणामाथि विभिन्न १७ वटा आरोपसहित बारले सभामुख सापकोटा र विभिन्न दलका नेताहरूलाई ज्ञापनपत्र बुझाइ अप्रत्यक्ष रूपमा महाभियोगको प्रक्रिया अघि बढाउन अनुरोध गरेको छ । बार एशोसिएसनले ज्ञापनपत्र बुझाउँदै प्रधानन्यायाधीश राणाविरुद्ध आ–आफ्नो संवैधानिक, कानूनी र नैतिक पहल गर्न सभामुख र संसदमा रहेका दलहरूलाई अनुरोध गरेको हो ।

प्रधानन्यायाधीशले संवैधानिक जिम्मेवारी इमान्दारीपूर्वक पालना नगरेको र प्रत्यक्ष रुपमा न्यायपालिकामा विकृति, विसंगति, विचौलिया, भ्रष्टाचार बढाउन मुख्य भूमिका खेलेको ज्ञापनपत्रमा उल्लेख छ । ज्ञापनपत्र बुझ्दै सभामुख सापकोटाले न्यायपालिकामा देखिएको समस्याको सहज र स्वाभाविक निकास निकाल्न सम्बद्ध सबै पक्ष गम्भीर हुनुपर्ने बताउनुभयो ।

बारले नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराई, नेकपा माओवादी केन्द्रका संसदीय दलका प्रमुख सचेतक देव गुरुङ, लोकतान्त्रिक समाजवादी पार्टीका संसदीय दलका प्रमुख सचेतक लक्ष्मणलाल कर्णलाई भेटी ज्ञापनपत्र बुझाएको थियो ।

उहाँहरूले न्यायपालिकामा देखिएको विकृतिको अन्त्य हुनुपर्नेमा आफूहरू सहमत रहेको भन्दै बारले आग्रह गरेको महाअभियोगका विषयमा भने कुनै ठोस जवाफ दिनुभएन । बारले आगामी शुक्रबारसम्मका लागि घोषणा गरेको कार्यक्रमअन्तर्गत राजनीतिक दलहरुलाई ज्ञापनपत्र बुझाएको हो ।