
काठमाडौं । विराटनगरको रानीस्थित एकीकृत भन्सार चौकी (आइसिपी)मा कार्यरत श्रमिक तथा मजदुरहरूले हड्तालको चेतावनी दिएका छन् ।
आइसिपीले श्रमिक तथा मजदुरहरूलाई श्रम ऐन अनुसार सेवा सुविधा नदिइएको भन्दै समाजवादी कारखाना श्रमिक संघले मंसिर १२ गतेदेखि भन्सार ठप्प तथा हड्ताल गर्ने चेतावनी दिएको हो ।
संघका इकाई अध्यक्ष शम्भुकुमार यादवले मजदुरहरूको जायज माग पूरा नगरे मंसिर १२ गतेदेखि एकीकृत भन्सार जाँच चौकी ठप्प पार्ने चेतावनी दिनुभयो । उहाँले संघकै अगुवाईमा २०७७ माघ १९ गते श्रम ऐन २०७४ को परिच्छेद १९ को दफा ११६ को उपदफाहरू अनुसारका मागहरू राखिएको भए पनि मागको सम्बोधन नभएको बताउनुभयो ।
समाजवादी ट्रेड युनियनका प्रदेश सचिव विकास मण्डलले हाल कार्यरत सम्पूर्ण कामदर तथा कर्मचारीहरूलाई नियमित गर्नुपर्ने, कार्यरत प्रत्येक कामदार तथा कर्मचारीहरूलाई सात लाख बराबरको बीमा गर्नुपर्ने माग राख्नुभयो ।
युनियनका प्रदेश अध्यक्ष मोहम्मद नसरुलले आइसिपीका खटिने मजदुरहरुलाई ठेकेदारी प्रथाबाट खटाएर शोषण गर्ने गरिएकाले ठेकेदार प्रथाको अन्त्य गर्नुपर्ने बताउनुभयो । उहाँले श्रम स्विकृति नलिई आइसिपीमा बिदेशी कामदारहरुलाई लगाइएको समेत बताउनुभयो ।
आइसिपीमा नेपाल र भारतका गरी करिव ३ सय श्रमिकहरू कार्यरत छन् । श्रमिकको मागका बारेमा सम्बन्धित निकायहरुलाई जानकारी गराउँदा पनि ध्यान नदिएको कारण हड्तालमा जानुपर्ने बाध्यता सिर्जना भएको संघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्