
काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत सोमबार हुन नसकेका प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अधिवेशन आज सुरू भएको छ । मुलुकका कूल १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये सोमबार १२५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा अधिवेशन प्रारम्भ भएको पार्टी कार्यालयले जनाएको छ ।
यसअघि १६ निर्वाचन क्षेत्रमा अधिवेशन सम्पन्न भइसकेको छ । अधिवेशन प्रारम्भ भएका जिल्लामा मतदान भई परिणाम प्राप्त भएको, मनोनयन गरी मतदान तोकिएको, सर्वसम्मतिको प्रयास भइरहेकोलगायतका देशभरबाट जानकारी प्राप्त भइरहेको कांग्रेस केन्द्रीय कार्यालयका सूचना अधिकारी केशव रिजालले जानकारी दिनुभएको छ ।
यस अधिवेशनबाट पार्टीको केन्द्रीय नेतृत्व चयन गर्ने महाधिवेशन प्रतिनिधि निर्वाचित हुनेछन् । हालको विधानअनुसार प्रत्येक निर्वाचन क्षेत्रबाट कम्तीमा २५ जनाका दरले महाधिवेशन प्रतिनिधि चयन हुनेछन् ।
चौधौँ महाधिवेशनका लागि गत भदौ १८ गतेदेखि वडास्तरीय अधिवेशन प्रारम्भ गरेको कांग्रेसले त्यसयता अधिकांश जिल्लामा पालिकास्तरको अधिवेशन र यही मङ्सिर ३ गतेदेखि प्रदेशसभा क्षेत्रीय अधिवेशन प्रारम्भ गरिसकेको छ । कांग्रेसको १४औँ महाधिवेशन यही मंसिर २४ देखि २६ गतेसम्म काठमाडौँमा हुँदैछ ।
प्रतिक्रिया दिनुहोस्