
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षकहरूलाई राजनीति गर्न नदिए नेपालको पार्टी प्रणाली नै कमजोर हुने बताउनुभएको छ ।
मंगलबार पार्टी निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रीय समितिको दोस्रो राष्ट्रिय परिषद्लाई सम्बोधन गर्दै उहाँले शिक्षकहरू सक्रियतापूर्वक राजनीतिक रुपान्तरणको काममा लाग्नुपर्ने बताउनुभयो ।
नेपालका सबै पार्टीलाई जनतामा स्थापित गराउने काम शिक्षकले नै गरेको भन्दै उहाँले शिक्षकहरूले राजनीति गर्नु हुँदैन भन्नु पार्टी प्रणालीलाई कमजोर पार्ने नीति भएको बताउनुभयो ।
उहाँले शिक्षकहरूलाई प्राविधिक रूपमा अप्ठ्यारो नपर्नेगरी राजनीति गर्ने वातावरण बनाइनेसमेत बताउनुभयो ।
शिक्षकहरूलाई राज्यले अन्याय गरेको भन्दै अध्यक्ष दाहालले विभेदमा पारेका कारण शिक्षकहरूले आन्दोलन गर्नुपरेको र क्रान्तिकारी हुनुपरेको जिकिर गर्नुभयो ।
अहिले माओवादी केन्द्रको भागमा शिक्षा मन्त्रालय रहेको भन्दै उहाँले शिक्षकहरूको समस्या समाधानका लागि आफ्नो पार्टीले सकेको काम गर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्