२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


एमालेविरुद्ध पाँच होइन, १ दशमलव ४ दल लागेको हो : महेश बस्नेत

‘आगामी निर्वाचनमा एमाले दुई तिहाइ, कांग्रेस हाफ, माधव नेपाल र प्रचण्ड पत्तासाफ’

13
Shares

काठमाडौं । नेकपा (एमाले)का नेता महेश बस्नेतले एमालेविरुद्ध पाँच दल नभएर १ दशमलव ४ दल लागेको बताउनुभएको छ ।

युवा संघको साइबर सर्कल घोषणा कार्यक्रममा नेता बस्नेतले एमालेविरुद्ध पाँच दल लागेको भनेर गरिएको प्रचारलाई गलत भएको बताउनुभयो ।

‘अहिले एमालेविरुद्ध पाँच दलको गठबन्धन बनेको भनिएको छ,’ उहाँले भन्नुभयो, ‘तर, त्यो पाँच दल होइन, १ दशमलव ४ दल हो, एउटा दल कांग्रेस हो भने बाँकी चार दल भनेको शून्य दशमलव ४ हुन् ।’

सांसदसमेत रहनुभएका नेता बस्नेतले आगामी निर्वाचनमा नेकपा एमालेले दुई तिहाई बहुमत ल्याउने दाबी गर्दै कांग्रेस अहिले ल्याएको भन्दा पनि आधामा खुम्चने बनाउनुभयो ।

उहाँले भन्नुभयो, ‘अब आउने निर्वाचनमा एमाले दुई तिहाई, कांग्रेस हाफ हुनेछ भने माधव नेपाल र प्रचण्ड पत्तासाफ हुनेछन् ।’

सांसद बस्नेतले अबको निर्वाचनपछि नेकपा एमालेले बहुमत ल्याएर पुनः केपी शर्मा ओलीले देशको नेतृत्व गर्ने बताउनुभयो । उहाँले साइबर सर्कलले एमालेको प्रतिरक्षा मात्र नभइ समाजमा पनि योगदान पुर्याउने बताउनुभयो ।

नेता बस्नेतले साइबर सेना नाम राख्दा द्वन्द्वको झल्को दिएको सुझाव आएपछि आफूहरुले साइबर सर्कल घोषणा गर्न लागेको स्पष्ट पार्नुभयो ।

एमालेविरुद्ध समग्र रुपमा प्रचार अभियान सुरु भएको र एमालेलार्ई खुइल्याएबापत रिचार्ज कार्डदेखि मोबाइलसम्मको पुरस्कारको व्यवस्था गरिएकोसमेत खुलासा गर्नुभयो ।

‘एमालेलाई खुइल्याएबापत मोबाइल र रिचार्जकार्ड दिन थालिएको छ,’ उहाँले भन्नुभाये, ‘हाम्राविरुद्ध ग्रुपहरु बनाइएका छन्, फेक आइडी बनाएर हाम्राविरुद्ध लगाइएका छन् ।’