
काठमाडौं । जर्मनीमा १६ वर्षे लामो एङ्गेला मर्केलको सरकार गिर्ने भएको छ ।
नयाँ सरकार गठनका लागि तीन ठूला राजनीतिक दलबीच गठबन्धन बनेसँगै १६ वर्षदेखि सत्तामा रहनुभएका चान्सलर मर्केल सत्ताबाट बाहिरिन लाग्नुभएको हो ।
सोसल डेमोक्रेट्स, ग्रीन्स र फ्रि डेमोक्रेट्स पार्टीले गठबन्धन सरकारको बारेमा जानकारी गराएका छन् । उनीहरुबीच वातावरणसँग जोडिएको मुद्दालाई प्राथमिकता दिने विषयमा सहमति भएको बीबीसीले जनाएको छ ।
गठबन्धनको नेतृत्व सोसल डेमोक्रेट्स पार्टीका नेता ओलाफ शाल्जले गर्ने हुनुभएको छ । गठबन्धनले जर्मनीलाई ग्रीन इकोनोमीमा परिवर्तन गर्ने दीर्घकालीन योजनामा काम गर्ने गठबन्धनले घोषणा गरेको छ ।
ओलाफले गठबन्धलाई ‘ट्राफिक लाइट’ नामकरण गर्नुभएको छ । उहाँले भन्नुभएको छ, ‘तीन दलको सरकार बन्नेछ, जसको मुख्य ध्येय जर्मनीलाई ग्रीन इकोनोमीसँग जोड्नु हो, यो सम्झौतालाई पार्टीहरुमा पेश गरिनेछ र तीन पार्टीले १० दिनभित्र हस्ताक्षर गरेसँग सरकार बनाउनेछौं ।’
जर्मनीमा भएको चुनावमा सबैभन्दा ठूलो पार्टी बनेको दुई महिनापछि शाल्जले ग्रीन पार्टी र फ्रि डेमोक्रेट्ससँग गठबन्धन बनाउनुभएको हो । गठबन्धनले जर्मनीमा २०३० सम्म कोइलाको प्रयोग नगर्ने योजना बनाएको छ । सरकारले जर्मनीको दुई प्रतिशत जमिनलाई पवन ऊर्जाको लागि गर्ने गठबन्धनले जनाएको छ ।
गठबन्धनले लाइसेन्सको आधारमा बिक्री गरिएको गाँजाको विषयमा पनि विचार गर्ने भएको छ । गाँजाको विक्रीवितरणमा नियन्त्रण गर्ने सरकारको योजना छ । जर्मनी युरोपको सबैभन्दा ठूलो अर्थव्यवस्था भएकाले यसको निर्णयले छिमेकी देशमा समेत असर पर्नेछ ।
प्रतिक्रिया दिनुहोस्