१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


महिला हिंसा अन्त्य गर्न दण्ड र सजायको प्रभावकारी कार्यान्वयन हुनुपर्छ : राष्ट्रपति भण्डारी


0
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्यका लागि कानुनमा उल्लिखित दण्ड र सजायको प्रभावकारी कार्यान्वयन गरिनुपर्ने बताउनुभएको छ ।

महिलाविरूद्ध हुने हिंसा निर्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवस तथा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका लागि बिहीबार शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले समाजमा विद्यमान विकृति र विसङ्गतिविरुद्ध परिवार र समुदायस्तरमा व्यापक सचेतना अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

‘कानुनले निषेध गरेका बोक्सी, छाउपडी, दाइजो, तिलक, छुवाछूतजस्ता महिलाद्वेषी प्रथा, परम्परा र अन्धविश्वासका कारण धेरै महिला दिदीबहिनीहरू अझै पनि हिंसा, विभेद र अपमानजन्य पीडा खप्न बाध्य भएका छन्,’ सन्देशमा भनिएको छ, ‘यसको अन्त्यका लागि कानुनमा भएका दण्ड र सजायको प्रभावकारी कार्यान्वयन गरिनुपर्छ ।’

राष्ट्रपति भण्डारीले महिलालाई आर्थिक रूपले आत्मनिर्भर बनाउँदै महिला र पुरुषमा भएको असमान शक्ति संरचनामा परिवर्तन सक्नुपर्ने बताउनुभयो । लैंगिक हिंसाविरुद्ध ऐक्यबद्धतासहितको साझा प्रतिबद्धता जनाउँदै समानतामा आधारित, न्यायपूर्ण, सभ्य र समुन्नत समाजको निर्माण गर्नेतर्फ अग्रसर हुन उहाँले आग्रह गर्नुभएको छ ।