
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको आसन्न महाधिवेशनमा अध्यक्ष पदका लागि राजेन्द्र लिङ्देनले उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।
काठमाडौंमा एक कार्यक्रममा पार्टीका प्रभावशाली नेता धवलशम्शेर राणासँगको गठजोडमा लिङ्देनले अध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको हो । आफू नेता तथा कार्यकर्ताको सुझावको आधारमा उम्मेदवारी घोषणा गरेहो उहाँको भनाइ छ ।
हाल राप्रपामा कमल थापा, पशुपति शम्शेर जबरा र डा. प्रकाशचन्द्र लोहनी तीन अध्यक्ष छन् । कमल थापाले अध्यक्षमा उम्मेदवारी दिने निश्चित भइसकेको छ भने अन्य दुई अध्यक्ष माैन बसेका छन् ।
यसअघि धवलसम्शेरले पनि आफूलाई अध्यक्षकै आकांक्षीका रूपमा उभ्याए भए पनि लिङ्देनसँगको समझदारीमा महामन्त्रीमा उठ्न तयार हुनुभएको हो । लिङ्देन र राणाको गठजोड कमल थापाका लागि चुनौतीपूर्ण हुने अनुमान गरिएको छ ।
राप्रपाको महाधिवेशन मंसिर १५ देखि १७ गतेसम्म काठमाडौंमा हुँदैछ ।
प्रतिक्रिया दिनुहोस्