२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


नगरपालिकाले दिएन बढेको तलब, शिक्षक आन्दोलित


0
Shares

दुर्गा उपाध्याय
कञ्चनपुर । सरकारले तोकेको तलब नपाएपछि कञ्चनपुरका बालविकासमा कार्यरत शिक्षकहरू आन्दोलित भएका छन् ।

सरकारले बजेट भाषणमार्फत न्यूनतम पारिश्रमिक (१५ हजार) घोषणा गरे पनि वृद्धि भएको तलब हालसम्म नपाएपछि बालविकासमा कार्यरत शिक्षकहरू आन्दोलित भएका हुन् । यसअघि बालविकासका शिक्षकले मासिक ८ हजारमा काम गर्दै आएका आएका थिए ।

सरकारले वृद्धि भएका ७ हजार स्थानीय सरकारबाट उपलब्ध गराउन देशैभरका स्थानीय तहलाई परिपत्र भइसकेको छ । तर, संघीय सरकारले बजेट विनियोजन नगरेसम्म बालविकासका शिक्षकलाई वृद्धि भएको तलब दिन नसक्ने भनेको शिक्षकहरुको गुनासो छ ।

भीमदत्त नगरपालिकाले माग सम्बोधन नगरेसम्म आफूहरूले आन्दोलन जारी राख्ने बालविकास शिक्षक कञ्चनपुर जिल्ला अध्यक्ष विन्दु विष्टले बताउनुभयो । उता, अन्य पालिकाहरूमा भने परिपत्र अनुसार संघीय सरकारबाट आएको बजेटबाट स्थानीय सरकारले बालविकासका शिक्षकको वृद्धि तलब दिने निर्णय भइसकेको छ ।

यसअघि पनि न्यूनतम पारिश्रमिक लागु हुनुपर्ने माग राख्दै असार २९ गतेबाट राहत तथा बालविकासका शिक्षकहरुले भिमदत्त नगरपालिकामा ३६ दिनसम्म आन्दोलन गरेका थिए । कञ्चनपुरमा हाल बालविकासमा ५ सय ५५ जना शिक्षक कार्यरत छन् । जसमध्ये भीमदत्त नगरपालिका १ सय ४५ जना रहेका छन् ।