
काठमाडौं । नेकपा एमालेले पदाधिकारी संख्या थप गरेको छ । हिजो साँझ बसेको केन्द्रीय कमिटीको अन्तिम बैठकले सर्वसम्मत नेतृत्व चयनको प्रयासमा दुई उपाध्यक्ष र दुई उपमहासचिव थप गरी पदाधिकारीको संख्या बढाएको हो ।
बैठकले विधान महाधिवेशनमार्फत खारेज गरिएको पोलिटब्युरो फर्काइएको छ भने केन्द्रीय कमिटीको आकार बढाएर ३०१ सदस्यीय बनाएको छ । गत असोज तेस्रो साता भएको विधान महाधिवेशनले पारित गरेको विधानमा अध्यक्षसहित १५ पदाधिकारी रहने व्यवस्था थियो ।
१५ सदस्यीय पदाधिकारीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, चार उपाध्यक्ष, महासचिव, उपमहासचिव र सात सचिव थिए । पोलिटव्यूरो खारेज गरेर ४५ सदस्यीय स्थायी कमिटी र २२५ सदस्यीय केन्द्रीय कमिटी बनाइएको थियो । तर दुई महिनामै फेरि विधान संशोधन भएको छ ।
अध्यक्षसहितत पदाधिकारी सहमतिबाटै चयन गर्न प्रयास भएपनि आकांक्षीहरु धेरै हुँदा पदाधिकारीका लागि आफू निकट नेताहरु नै दुई समूहमा बाँडिएपछि अध्यक्ष ओलीमाथि विधान संशोधन गर्नुपर्ने दबाव परेको हो । नयाँ व्यवस्थासँगै अब एमालेमा १९ पदाधिकारी रहनेछ ।
जसमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, महासचिव, ३ उपमहासचिव र ७ सचिव छन् । ४५ सदस्यीय स्थायी कमिटी, ९९ सदस्यीय पोलिटब्यूरो र ३०१ सदस्यीय केन्द्रीय कमिटी हुनेछ । यस्तै एउटै पदमा दुई पटकभन्दा बढी उम्मेदवारी दिन नपाउने विधानको व्यवस्था समेत हटाइएको छ ।
यसले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका भीम रावललाई उपाध्यक्षमै चित्त बुझाउन दबाव बढ्ने छ । वरिष्ठ उपाध्यक्ष र महासचिवका दावेदारहरुलाई पनि एक तह तलको पदमा बस्न दबाव गर्नेछ । वरिष्ठ उपाध्यक्षमा वर्तमान महासचिव ईश्वर पोखरेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ र रामबहादुर थापा बादलको दाबी छ ।
महासचिवमा उपमहासचिव विष्णु पौडेल, सचिव पृथ्वीसुब्बा गुरु, स्थायी कमिटी सदस्यद्धय शंकर पोखरेल र सुरेन्द्र पाण्डको दाबी छ । शनिबार विभिन्न पदाधिकारी तथा केन्द्रीय सदस्यका लागि उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको छ । शुक्रबार उद्घाटन सत्र सकेको एमालेले आइतबार मतदानबाट नेतृत्व चयन गर्दै छ ।
प्रतिक्रिया दिनुहोस्