
पाेखरा । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत कास्की जिल्ला सभापतिको लागि हिजो भएको मतदानमा कसैले पनि बहुमत ल्याउन सकेनन् । ५ जना प्रतिस्पर्धी रहेकोमा किशोरदत्त बराल र सुदीपमोहन भट्टराईबीच आज पुनः मतदान हुने भएको छ ।
२ हजार २५ मतमध्ये सर्वाधिक मत ल्याएका बरालले ६ सय ४४ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी भट्टराईले ४ सय ६९ मत ल्याएको निर्वाचन समितिले जनाएको छ । तेस्रो रहेका आइबहादुरले ४ सय ६२ मत प्राप्त गर्नुभयो ।
पोषनाथ शर्माको ३ सय ३५ र गिरीराज गौतमको ६३ मत छ । ४७ मत बदर भएको निर्वाचन समितिले जनाएको छ । सभापति चयनका लागि दोस्रो पटक आज हुने मतदानमा सबै क्षेत्रीय प्रतिनिधि र वडा सभापतिहरुले मतदान गर्नेछन् ।
उपसभापतिका लागि भने कम्तीमा ५ वर्ष निरन्तर कांग्रेसको क्रियाशील सदस्य भएको हुनुपर्ने व्यवस्था छ । चुनावले २ उपसभापति, २ सचिव र २ सहसचिव निर्वाचित गर्ने छ ।
कोषाध्यक्ष भने सभापतिले जिल्ला कार्यसमितिका निर्वाचित सदस्यमध्येबाट १ जनालाई मनोनित गर्नेछन् । कांग्रेसको संशोधित विधान अनुसार सभापति हुन ५० प्रतिशतभन्दा बढी मत ल्याउनैपर्ने बाध्यकारी व्यवस्था छ । अन्य पदको मतगणना आजै हँुदै छ ।
प्रतिक्रिया दिनुहोस्