
अक्कल कुँवर
काठमाडौं । नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशन अन्तर्गत ३५ जिल्लाको अधिवेशन सकिएको छ । बाँकी जिल्लामा जिल्ला अधिवेशन र कतिपय जिल्लामा क्षेत्रीय अधिवेशन जारी छ ।
अहिलेसम्म प्राप्त मतपरिणामले कांग्रेसभित्र गुटगत राजनीति झन् कसिलो बन्ने देखिएको छ । गुट अदलबदल तीव्र भइरहँदा महाधिवेशनमा देखिने समीकरण र सम्भावना थप रोचक बन्दै गएको छ ।
वडा तहबाटै भएको निर्वाचनमा केन्द्रमा रहेका संस्थापन र संस्थापनइतर पक्षमा तल्लो तहसम्म नेता तथा कार्यकर्ता विभाजित छन् ।
१३ औं महाधिवेशनपछि तेस्रो धारको रूपमा उदाएको पूर्वमहामन्त्री कृष्ण सिटौला समूहको झुकाव केन्द्रमा सभापति शेरबहादुर देउवातिर देखिएको छ । तर, स्थानीय स्तरमा भने यो समूहले आफ्नो अनुकूलतामा देउवा वा इतरपक्षसँग तालमेल गरेको छ ।
केन्द्रमा सभापति शेरबहादुर देउवाले नेतृत्व गरेको संस्थापन समूह, वरिष्ठ नेता रामचन्द्र पौडेलले नेतृत्व गरेको इतर समूह र पूर्वमहामन्त्री सिटौलाले नेतृत्व गरेको तेस्रो धार अस्तित्वमा छन् ।
नयाँ नेतृत्व छनोटको लागि वडा हुँदै पालिका, प्रदेशसभा निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र र जिल्ला अधिवेशन जारी रहँदा यी गुट थप कसिलो त बनेको छ नै उपगुटहरू पनि बलियो बनेका छन् ।
खासगरी संस्थापनइतर समूहमा उपगुट कसिलो बनेका छन् । इतरसमूहभित्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा.शेखर कोइराला गुट छन् ।
इतर गुटको नेतृत्व गरिरहेका नेताहरूको पकड जिल्ला र क्षेत्र विशेषमा मात्र सीमित छ । यो समूह सर्वमान्य नेतृत्वकर्ता नहुँदा नेता विशेषका गुट परिर्वतन झन् तीव्र बनेको छ । अधिवेशनबाट निर्वाचित प्रतिनिधिहरू इतरपक्षका साझा नभई नेतागत गुटमा बाँडिएका छन् ।
संस्थापन पक्षमा भने उपसभापति विमलेन्द्र निधि बाहेक निर्वाचित प्रतिनिधि सभापति देउवा पक्षमा छन् । देउवासँग प्रतिस्पर्धा गर्ने किसिमको गुट समूहमा निर्माण भएको छैन ।
कतिपय स्थानीय तह, क्षेत्रीय अधिवेशन र जिल्लामा भने केन्द्रको गुटभन्दा फरक दृश्य देखिएको छ । कञ्चनपुर, झापा, नवलपरासी, इलाम, भोजपुर, नुवाकोट लगायतका जिल्लामा केन्द्रीय नेताको आन्तरिक प्रतिस्पर्धाको कारण केन्द्रको गुटभन्दा फरक समीकरण देखिएको छ ।
कतिपय जिल्लामा संस्थापन पक्ष र इतरपक्षबीच पनि सहकार्य भएको देखिन्छ । कतै केन्द्रको समीकरण विपरीत तेस्रो धार र इतरपक्षबीच पनि सहकार्य हुँदा कतै भने संस्थापन पक्षबीच नै प्रतिस्पर्धा भएको छ ।
पार्टीको आन्तरिक प्रतिस्पर्धामा गुटउपगुट परिर्वतनले तीव्रता पाउँदा राष्ट्रिय राजनीतिमा स्थान बनाइसकेका कतिपय नेताहरू पनि महाधिवेशन प्रतिनिधिमै पराजित हुन पुगेका छन् ।
पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा अन्य पार्टीसँगको प्रतिस्पर्धा जस्तै हुनपुग्दा जिल्लाको नेतृत्व हाँकेका र १४ औं महाधिवेशनबाट केन्द्रीय नेतृत्वमा पुग्ने तयारीमा रहेका कतिपय नेता त वडा र पालिका तहमै पराजित हुन पुगेका छन् ।
नेता र कार्यकर्तामा देखिएको गुट अदलबदलको छेपारे प्रवृत्ति तीव्र भइरहँदा आगामी महाधिवेशनबाट पार्टी नेतृत्व कुन गुट र कुन नेताको हातमा पुग्ने हो अनुमान गर्न सहज छैन ।
प्रतिक्रिया दिनुहोस्