
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले अबको एक वर्षमा माओवादी केन्द्र देशकै पहिलो पार्टी बन्ने बताउनुभएको छ ।
बागलुङको जैमिनिमा माओवादी केन्द्र जैमिनि नगर कमिटीको पहिलो अधिवेशनको उद्घाटनमा पौडेलले विगतका केही वर्षमा पार्टी आन्तरिक समस्यामा अल्झेको भन्दै पौडेलले पार्टीभित्रका समस्याको समीक्षा गरेर सङ्गठन विस्तारमा लागेको बताउनुभयो ।
‘हामीले संकल्प गरेका छौं,’ उहाँले भन्नुभयो, ‘अबको एकवर्षभित्र २०६४ सालको जस्तो माओवादी बनाउँछौं ।’
मन्त्री पौडेलेल माओवादी केन्द्रले ल्याएको परिवर्तन र एजेण्डामा अरू पार्टीले रजाईं गरेको आरोपसमेत लगाउनुभयो । समावेशी राज्य व्यवस्था पार्टीको एजेण्डा भए पनि पछिल्लो समय माओवादी सकियो भन्नेले नै त्यो एजेण्डा आफ्नो भएको सस्तो प्रचार गर्ने गरेको उहाँको आरोप थियो ।
पार्टीमा नयाँ जागरण आएकोले अन्य पार्टीकालाई माओवादीमा गोलबद्ध हुन मन्त्री पौडेलले आग्रह गर्नुभयो । विचार मिल्नेसँग एकताको सम्भावना कायम रहेको भन्दै पौडेलले त्यसका लागि माओवादी केन्द्रले संवाद गरिरहेको जानकारी दिनुभयो ।
देशमा आउने हरेक सङ्कटको समाधान माओवादी केन्द्र र अध्यक्ष प्रचण्डको भूमिकाले समाधान हुने गरेका उदाहरण दिँदै पौडेलले शिक्षा क्षेत्रको विकास र परिवर्तनका लागि सधैँ काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्