
इलाम । नेपाली कांग्रेसको १४ औं जिल्ला अधिवेशनबाट डम्बरबहादुर खड्का सभापतिमा विजयी हुनुभएको छ । प्रतिस्पर्धी भेषराज आचार्यलाई १ सय ६० को मतान्तरले पराजित गर्दै खड्का विजयी हुनुभएको हो ।
शनिबार साँझ निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार खड्काले ९ सय ३५ मत प्राप्त गर्नुभयो । उहाँका प्रतिस्पर्धी आचार्यले ७ सय ७५ मत प्राप्त गर्नुभयो ।
एक हजार ७ सय ९५ मतदातामध्ये शनिबार भएको निर्वाचनमा एक हजार ७ सय ३२ मत खसेको थियो ।
खड्का पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा निकट हुन् । आचार्य वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट सभापतिका उम्मेदवार बनेका थिए । अन्य पदाधिकारी र कार्यसमिति सदस्यमा भने मिश्रित परिणाम आएको छ ।
उपसभापति पदमा खगेन्द्र देवान ८ सय ७४ मत र विष्णुकुमारी लिम्बू दहालले ७ सय ७८ मतका साथ विजयी बने । केदार थापाले ७ सय ४७ मत र होमप्रसाद दुलालले ६ सय ९९ मत पाएर पराजित बने ।
दुई सचिव पदमा पूर्णप्रसाद गौतम ८ सय १९ मत र निरोज खड्की ७ सय ९३ मतका साथ विजयी बने । दुई सह–सचिव पदमा डालाकुमारी कार्की ८ सय ६५ मत र आचार्य समूहका देवेन्द्रकुमार सुवेदी ७ सय ८१ मतका साथ विजयी बने ।
प्रतिक्रिया दिनुहोस्