
काठमाडौं । जबरजस्ती करणी उद्योग मुद्दाका प्रतिवादीलाई छुटाइदिन्छु भन्दै प्रलोभनमा पारी रकम ठगी गरेको अभियोगमा एक महिला पक्राउ परेकी छन् ।
पक्राउ पर्नेमा बुढानिलकण्ठ नगरपालिका–१० बस्ने काभ्रे पनौती नगरपालिका–१० घर भएकी २७ वर्षीया रबिना थापा रहेकी छन् । उनलाई आइतबार साँझ महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–१५ छाउनीबाट पक्राउ गरेको हो ।
जबरजस्ती करणी उद्योग मुद्दामा गत असार १८ गते पक्राउ परी हाल पुर्पक्षको लागि डिल्लीबजार कारागार चारखालमा थुनामा रहेका चाईनिज नागरिक लिउ युईलाई थुनामुक्त गराइदिन्छौं भनि लिउकी श्रीमतीबाट २० लाख रुपैयाँ रकम लिएको महाशाखाका सूचना अधिकारी कृष्णप्रसाद पंगेनीले जानकारी दिनुभयो ।
रविना समेतका २ महिलाहरूले आफ्नो मान्छे वकिल भएको र उनले न्यायाधीशसँग सेटिङ मिलाएर थुनामा रहेका श्रीमानलाई धरौटीमा छुटाइदिने आश्वासन दिएकी थिइन् । सेटिङका लागि खर्च लाग्दै भन्दै उनीहरूले चिनियाँ नागरिकको श्रीमतीसँग उक्त रकम ठगी गरेको खुल्न आएको छ ।
थापालाई आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको महाशाखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्