
काठमाडौं । नेकपा (एमाले)का नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले अहंकार र दम्भ भएको मानिस नेता नहुने टिप्पणी गर्नुभएको छ ।
पार्टीको दशौं महाधिवेशनको बन्दसत्रलाई समापन सम्बोधनमा बोल्दै अध्यक्ष ओलीले नेताहरू अध्ययनशील हुनु जरुरी रहेको भन्दै अहंकार र दम्भ भएको मानिस नेता नहुने टिप्पणी गर्नुभयो ।
प्राकृतिक विविधता र सामाजिक विविधता नेपालीको सम्पदा भएको बताउँदै अध्यक्ष ओलीले यसको सही र उचित ढंगले प्रयोग गर्न आग्रह गर्नुभयो ।
आन्तरिक र बाह्य हमलाबाट पार्टीलाई जोगाएर अघि बढ्नुपर्ने चुनौती रहेको बताउनुभयो । उहाँले पार्टीलाई मजबुद बनाएर जनतासँग एकीकृत गर्दै थप सफलताका लागि अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
अब एमालेले तीन महिनासम्म एकीकरणको अभियान सञ्चालन गर्ने अध्यक्ष ओलीले जानकारी दिनुभयो । विभिन्न पार्टीबाट कार्यकर्ता प्रवेश गराउँदै पार्टीलाई माथि उठाउनुपर्नेमा उहाँको जोड छ ।
केन्द्रीय कमिटीले पार्टीको एकीकरण अभियानको मिति तोक्ने उहाँको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्