
प्रदीप पौडेल
पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेश सभापतिका लागि पोखरामा धमाधम उम्मेदवारी घोषणा हुन थालेको छ । प्रदेश सभापतिमा देउवा पक्षबाट १ र पौडेल पक्षबाट ३ जनाले उम्मेदवारी घोषणा गरेका छन् ।
कास्कीका शुक्रराज शर्मा, देवराज चालिसे, तनहुँका रघुनाथ पौडेल र पर्वतका अर्जुन जोशीले उम्मेदवारी घोषणा गरेका हुन् । उम्मेदवारी घोषणा गरिनसके पनि कास्कीकै पौडेल पक्षका यज्ञबहादुर थापा पनि प्रदेश सभापतिका आकांक्षी रहेका हुनुहुन्छ ।
आकांक्षीमध्ये उम्मेदवारी घोषणा गरेका शर्माको पल्ला भारी हुने अनुमान छ । उहाँ कास्की कांग्रेसमा १७ वर्षसम्म सभापति बन्नुभएको थियो । २०२६ सालमा कांग्रेस राजनीतिमा प्रवेश गरेका उहाँ हाल ७५ वर्षका भए । यद्यपि उहाँले सबै नेताको आफूलाई आशिर्वाद रहेको पनि दाबी गर्नुभएको छ ।
कास्कीबाटै उम्मेदवारी घोषणा गरेका देवराज चालिसे पनि पौडेल समूहका हुन् । विद्यार्थी कालदेखि राजनीति सुरु गरेका उनी बौद्धिक नेताका रूपमा परिचित छन् । तर, उहाँ सांगठनिक रूपमा अहिलेसम्म पार्टीको जिम्मेवारी नलिएका नेतामा पर्नुहुन्छ ।
गत प्रतिनिधिसभाको चुनावमा कास्की २ बाट उम्मेदवार बने पनि पराजित हुनुभएको थियो । तर, अहिले हुने निर्वाचनमा उहाँको स्थिति पनि बलियो नै देखिन्छ ।
तनहुँका रघुनाथ पौडेल रामचन्द्र पौडेल पक्षधर हुनुहुन्छ । तनहुँका पुराना नेता पौडेलले पनि तनहुँ सभापतिमा ३ कार्यकाल नेतृत्व गरिसक्नुभएको छ । उहाँले आफूलाई वरिष्ठ नेता पौडेलसहित सशांक कोइरालालगायतको आशिर्वाद रहेको भन्दै सभापतिमा आफूले जित्ने दाबी गनुभएको छ ।
कास्कीका यज्ञबहादुर थापाले पनि सभापति लड्ने तयारी गर्नुभएको छ । उहाँ पनि वरिष्ठ नेता पौडेल पक्षधर हुन् । कास्की सभापति भएर काम गरिसकेका उनी कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य पनि हुनुहुन्छ ।
प्रदेश सभापतिमा पर्वतका अर्जुनकुमार जोशी कांग्रेसका केन्द्रीय सदस्यसँगै तीन पटक पर्वतको पार्टी सभापति भएर काम गरी सकेका छन् । उहाँले संस्थापन देउवा पक्षबाट उम्मेदवारी घोषणा गरेका छन् ।
कांग्रेसको परिवर्तित तालिकाअनुसार प्रदेशमा यही मंसिर १५ गते हुने भनिएको मनोनयन दर्ता १७ गतेका लागि सारिएको छ । व्यक्ति भन्दा पनि पार्टीलाई बलियो पानुपर्ने शुभेच्छुकहरूको शुभेच्छा छ ।
कांग्रेस गण्डकी प्रदेश समितिका लागि ११ जिल्लाका महाधिवेशन र प्रदेश प्रतिनिधि गरी झण्डै २ हजार जनाले मतदान गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस्