
प्रज्ञा तिमल्सीना
काठमाडौं । चीनमा चिकित्सा शिक्षा अध्ययन गरेका विद्यार्थीले नेपालमा नै इर्न्टनसिप गर्न पाउनुपर्ने माग राख्दै चरणवद्ध आन्दोलनमा उत्रिएका छन् ।
कोरोना संक्रमणका कारण पढाइ पूरा गर्न नपाएर नेपालबाटै डेढ वर्ष अनलाइन कक्षा लिएकाहरूलाई सरकारले यहाँ इर्न्टनसिपको मान्यता नदिने भएपछि उनीहरू विरोधमा उत्रिएका हुन् । विरोधमा उत्रिनेमा सन् २०१६ व्याजका १ सय ५३ विद्यार्थी छन् ।
कोरोना संक्रमणका कारण पढाइ पूरा नै नगरी घर फर्किएका चिकित्सकले नेपालबाट नै १ वर्ष ६ महिना अनलाइन कक्षा लिएर पढाइ पूरा गरेका थिए । शिक्षा मन्त्रालयले नै पढाइ पूरा नभएका तर देश बाहिर पढेका विद्यार्थीले अनलाइन कक्षा लिन सक्ने जनाएपछि अनलाइन कक्षा पढेको उनीहरूकाे भनाइ छ ।
चिकित्सा शिक्षा तर्फको स्नातह तहको पढाइ पूरा गरेपछि १ वर्ष तोकिएको अस्पतालमा अनिवार्य इर्न्टनसिप गर्नुपर्छ । तर, सरकारले इर्न्टनसिप गर्न नै नदिने जनाएपछि आफूहरू विरोधमा उत्रिएको उनीहरूको भनाइ छ । पहिला अनलाइन पढेकाे पनि मान्यता दिने भनेकाे मेडिकल काउन्सिले पछि भने मान्यता नदिने बताएसँगै विद्यार्थी समस्यामा परेका हुन् ।
मेडिकल काउन्सिलले भने अध्ययन नै पूरा नभएकाले इर्न्टनसिप गर्न नदिने जनाएको छ । काउन्सिलका रजिष्ट्रार डा. कृष्ण प्रसाद अधिकारीले भने प्रयोगात्मक विषयमा अनलाइन कक्षा लिएकालाई मान्यता दिन नमिल्ने प्रष्ट पार्नुभयाे ।
चीन सरकारले भिसा रोकेपछि अन्तिम डेढ वर्ष अनलाइन कक्षाबाट नै अध्ययन पूरा गरेको बताइरहेका विद्यार्थीहरू थप साढे २ वर्ष फेरि पढेर आउन समय र आर्थिक स्थितिका कारण पनि सम्भव नहुने गुनासो गर्छन् ।
पहिलाे र दाेस्राे वर्ष चीनमा अध्ययन गरेर आएका विद्यार्थीलाई तेस्राे वर्ष यहाँ भर्ना भएर अध्ययन गर्न काउन्सिलले भनेकाे छ । तर, विद्यार्थीहरू भने तेस्राे वर्ष अनलाइनमार्फत पढेकाे दाबी गर्दै रकम र समय दुवैकाे नास भएकाे बताउँछन् ।
अहिले इर्न्टनसिपकाे गर्न अनुमति नदिएकाे काउन्सिलले चीनमा नै सबै अध्ययन सकेर इर्न्टनसिप मात्र बाँकी रहेका सन् २०१४ र १५ का विद्यार्थीहरूलाई भने इर्न्टनसिपको अवसर दिएको थियो । यसलाई विद्यार्थीहरूले नातावाद र कृपावादकाे संज्ञा दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्