१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रधानन्यायाधीशको तजबिजी अधिकारमा कैँची, गोलाबाट कसरी तोकिन्छ पेशी ?


52
Shares

मिरा बस्नेत
काठमाडौं । प्रधानन्यायाधीश पदलाई शक्तिशाली बनाएको पेशी तोक्ने प्रधानन्यायाधीशको अधिकार बुधबारबाट खोसिएको छ ।

पेशी तोक्ने प्रधानन्यायाधीशको तजबिजी अधिकार कटौती गर्दै न्यायालय सुद्धीकरणको लागि सर्वोच्च अदालतको ७० वर्षे इतिहासमा पहिलो पटक मुद्दाहरूको पेशी गोलाप्रथाबाट तोकिएको छ । गोला प्रथाबाट पेशी तोकिने भएपछि प्रधानन्यायाधीशको बहिर्गमनको माग गर्दै आन्दोलन गरिरहेका कानुन व्यवसायीहरूले आन्दोलनबाट केही पछि हटेका छन् ।

इजलास बहिष्कार गरेको १ महिनापछि न्यायाधीशहरू इजलास फर्किन तयार भएका थिए । न्यायाधीश मीरा खड्का संयोजकत्वको समितिले तयार गरेको कार्यविधिअनुसार बुधबारबाट सर्वोच्च अदालतमा गोलाप्रथाबाट पेशी व्यवस्थापन गरिएको छ ।

गोलाप्रथाबाट इजलास र पेशी तोक्नको लागि तीनदेखि चारवटा थैली र त्यहाँभित्र फरक–फरक स्वरुपका गोटी राखिन्छ । पहिलो प्राथमिकता वृहत पूर्ण वा पूर्ण इजलासलाई दिइएको हुन्छ । त्यसपछि एकल र संयुक्त इजलास गठन गरिन्छ । सबैभन्दा पहिला इजलास गठनको लागि न्यायाधीशहरूबीच गोला तान्ने प्रक्रिया सुरु हुन्छ ।

पहिलो गोला प्रथा इजलास गठनको लागि हुन्छ । जसले एकल इजलास, संयुक्त इजलास, पूर्ण वा वृहतपूर्ण इजलास तय गर्छ । कार्यविधि अनुसार वृहत पूर्ण इजलास गठन हुने दिन सवैभन्दा पहिले ती इजलास गठन गर्नुपर्ने प्रावधान छ । कार्यविधिमा पूर्ण इजलास गठनका लागि सो दिन उपस्थित भएका न्यायाधीशको संख्या बराबरको गोटी पहिलो थैलीमा राख्ने र वरिष्ठताको आधारमा न्यायाधीशहरूले गोटी तान्ने व्यवस्था गरिएको छ ।

५ सदस्यीय वृहत पूर्ण इजलास गठन हुने भएकाले १ देखि ५ नम्बरसम्मको गोटी पर्ने न्यायाधीशको वृहत पूर्ण इजलास गठन हुन्छ । बृहतपूर्ण इजलास गठन भएपछि वा इजलास नपरेका दिन सर्वोच्च अदालतमा पहिले एकल इजलास गठन गर्ने र त्यसपछि बाँकी रहेका न्यायाधीशहरूबाट संयुक्त इजलास गठन गर्नुपर्ने व्यवस्था कार्यविधिमा छ ।

यस्तै एकल इजलासको गठनको लागि गोटी तान्न दोस्रो थैलीमा ‘अ’ र ‘आ’ लेखेको दुईवटा गोटी राखिन्छ । बाँकी न्यायाधीशको संख्या बराबर हुनेगरी केही नलेखेका खाली गोटी राखिन्छ । गोटी तान्ने क्रममा जुन न्यायाधीशको हातमा ‘अ’ वा ‘आ’ लेखेको गोटी पर्छ, तिनै न्यायाधीशको एकल इजलास गठन हुने छ ।

संयुक्त इजलास गठनमा भने न्यायाधीशहरूको वरिष्ठताक्रम मिलाउन खोजीएको छ । संयुक्त इजलासको लागि गोला तान्दाको नियम भने फरक छ । जोर र विजोर बार यो नियम फरक छ । जोर बार वरिष्ठमध्येका ८ न्यायाधीश संयुक्त इजलासमा स्वतः रहन्छन् भने विजोर बार वरिष्ठ न्यायाधीशहरूले गोला तान्नुपर्ने व्यवस्था कार्यविधिमा छ ।

इजलास गठन भइसकेपछि मात्र पेशी सूची छान्ने काम सुरु हुन्छ । सर्वोच्च अदालत प्रशासनले इजलास गठन हुनुअघिनै त्यो दिन पेशीमा तोकिएका मुद्दाको सूचीबाट समूह बनाउँछ । गोला प्रणालीमा हेर्न नमिल्ने मुद्दा व्यवस्थापनको समाधानबारे भने केही उल्लेख छैन ।