२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


राप्रपा महाधिवेशनमा गणतन्त्रप्रति पूर्वपञ्चहरूको वितृष्णा


0
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन काठमाडौंमा सुरु भएको छ । पूर्व पञ्चहरूका तीन वटा समूह मिलेर राप्रपा बनेपछि पहिलो पटक हुन लागेकाले राप्रपाले यसलाई एकता महाधिवेशन भनेको छ ।

उद्घाटनसत्रलाई सम्बोधन गर्दै अध्यक्ष कमल थापाले नेपाल देशी–विदेशी शक्तिहरूको रणनीतिक चलखेल केन्द्र बन्न सक्ने खतरा रहेको बताउनु भयो । उहाँले अब राष्ट्रियता र प्रजातन्त्र एकै ठाउँमा रहेको परिस्थिति निर्माण गर्नुपर्ने भन्दै लोकतन्त्रवादीहरूलाई राजसंस्थासँग नतर्सिन आग्रह गर्नुभयो ।

आफूहरूले राजादेखि विप्लवसम्म अटाउने मौलिक प्रजातन्त्र स्थापना गर्न खोजेको भन्दै सदन र सडकको बलमा नागार्जुनका राजालाई नारायणहिटीमा ल्याइछाड्ने जिकिर गर्नुभयो ।

अर्का अध्यक्ष डाक्टर प्रकाशचन्द्र लोहनीले नेपालको राजनीतिक इतिहासमा भएका परिवर्तनले राजनीतिक विकास भए पनि विकासका लागि राजनीति हुन नसकेको बताउनुभयो । अग्रगमनका नाममा समाजलाई विखण्डन गराउने काम भएको उहाँको भनाइ थियो ।

अध्यक्षका प्रत्यासी राजेन्द्र लिङ्देनले पार्टीका नेता कार्यकर्ताले जीवन रोज्ने कि मृत्यु भनेर निर्णय गर्ने बेला आएको बताउनुभयो । उहाँले नेतृत्वको चर्को आलोचना गर्दै पछिल्लो २ वर्षमा पार्टी जसरी चल्यो, त्यसरी चल्ने हो भने पार्टीले बोकेको मुद्दा नै रहन्छ कि रहँदैन भन्ने प्रश्न उठेको जिकिर गर्नुभयो ।

राप्रपाका अर्का अध्यक्ष पशुपति शमशेर राणाले पार्टी एकतामा असर नपुगोस भनेर आफूले उम्मेदवारी नदिएको बताउनुभयो । महाधिवेशनमा अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष कमल थापा र महामन्त्री राजेन्द्र लिङ्देनबीच प्रतिस्पर्धा हुने भएको छ ।

राप्रपाले पहिलो पटक प्रदेशसभा क्षेत्रहरूबाट महाधिवेशन प्रतिनिधि चयन गरेर महाधिवेशन गर्न लागेको हो । महाधिवेशन मंसिर १७ गतेसम्म चल्नेछ ।